कर्मचारी आन्दोलनका कारण सेवाग्राही मर्कामा



नेपाल समाचारपत्र
रुकुम
स्थानीय निकाय कर्मचारीको लगातारको आन्दोलनले रुकुमको जनजीवन प्रभावित भएको छ। जिल्ला विकास समिति रुकुम, मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका र सबै गाउँ विकास समितिको कार्यालय तालाबन्दी गरेर धर्नामा बसेका कर्मचारीले आफ्ना मागको सुनुवाइ नभए अझै कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्।

आफ्ना मागका बारेमा सरकारले सकारात्मक रूपमा लिएर सम्बोधन गर्ने अपेक्षा पनि उनीहरूले गरेका छन्। आन्दोलनकै कारण जिल्ला विकास समिति रुकुमको फागुन १३ गते हुने जिल्ला परिषद् पनि अन्योलमा रहेको छ। स्थानीय निकाय कर्मचारी आन्दोलनका कारण सबैभन्दा बढी सेवाग्राही मारमा परेका छन्।

कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएपछि जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिबाट हुने कुनै पनि हुन सकेका छैनन्। स्थानीय तह पुनर्संचनाका क्रममा स्थानीय निकायका कर्मचारीलाई सम्मानजनक रूपमा समायोजनको माग गर्दै उनीहरूले आन्दोलन थालेका हुन्। आन्दोलनपिच्छे आन्दोलन हुन थालेपछि सेवाग्राही भने मारमा परेका छन्। शुरूमा गाविस सचिवको आन्दोलनको मारमा परेका सर्वसाधारण त्यसपछि पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र माग्दै आन्दोलित तकसेराबासीको मारमा परेका थिए। गाविस सचिव र तकसेराबासीको आन्दोलन सकाएर काम सक्ने आशामा बसेका सर्वसाधारण अहिले स्थानीय निकायका कर्मचारीको आन्दोलनको सिकार बनेका छन्।

प्रतिक्रिया दिनुहोस्