स्ववियु निर्वाचन सर्यो



काठमाडौं, (नेस)
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही फागुन १८ गते हुने भएको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, संयुक्त विद्यार्थी संगठन र उपत्यकाका क्याम्पसका प्रमुखहरूबीच बसेको संयुक्त बैठकले यही फागुन १८ गते स्ववियु निर्वाचन गर्ने सहमति गरेको हो।

संगठन दर्ता, नामावली प्रकाशनलगायत निर्वाचन कार्यतालिकाका विषय संशोधन भई नयाँ प्रक्रियाबाट निर्वाचनका कार्यक्रम शुरू हुने सहमति भएको विप्लव निकट अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले जानकारी दिनुभयो।
स्ववियु निर्वाचन स्थगनको माग गर्दै आएका असन्तुष्ट विद्यार्थी संगठनलाई चुनावमा सहभागी गराउन फागुन १८ गते चुनाव सारिएको हो। पूर्वनिर्धारित मिति अर्थात् फागुन १४ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन भएको थियो।

असन्तुष्ट पक्ष चुनावमा सहभागी हुने सुनिश्चतता भएपछि निर्धारित मितिको चुनाव सार्ने विषय हिजो बिहीबार बसेको संयुक्त विद्यार्थीको बैठकबाट सहमति भएको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो। आफ्नो पार्टीको अधिवेशन जारी रहेको भन्दै विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले चुनावको मिति सारिनुपर्ने माग राख्दै आएको थियो भने नेविसंघको असन्तुष्ट पक्षले उमेर हदबन्दीको विषयमा विरोध गर्दै आएको थियो। शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको गाडीमा आगजनी नै भएको थियो। सबै क्यामपसमा लगाएर ताला आज शुक्रबारबाट खुल्ने भएको छ।

त्रिभुवन विश्वविद्यालयमा बसेको वैठकमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीसहितका पदाधिकारी, संयुक्त विद्यार्थी संगठनको तर्फबाट नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेलगायतका विद्यार्थी संगठनको सहभागिता रहेको थियो। विप्लव माओवादीको विद्यार्र्थी संगठनले जबरजस्ती चुनाव गरिए त्यसलाई भाँड्ने चेतावनी दिंदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्