टुवाखोला–पञ्चमीबजार सडक सञ्चालनमा



खोटाङ, ५ फागुन । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने टुवाखोला–पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । सगरमाथा राजमार्गमा पर्ने गाईघाट–दिक्तेल सडकखण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो ।

जिविस, गाविस तथा सामुदायिक वनको आर्थिक सहयोगमा चार वर्ष लगाएर निर्माण गरिएको सडक हालैदेखि सञ्चालनमा आएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताउनुभयो ।

फरक–फरक आर्थिक वर्षमा जिविसबाट प्राप्त रु १५ लाख, बतासे गाविसको रु १५ लाख, स–छितापोखरी गाविसको रु ६० हजार, स्थानीय मार्से सामुदायिक वनको रु चार लाख, जोरमाटार सामुदायिक वनको रु दुई लाख र ढुकुरथुम सामुदायिक वनको रु एक लाख ४० हजार गरी रु ९० लाखको लागतमा सडक निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ ।

सडक सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम दिक्तेल तथा तराईका विभिन्न जिल्ला आवतजावत गर्न सहज भएको छ । सडक निर्माणका क्रममा रु १९ लाख ऋण परेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

सडक निर्माण सम्पन्न भएपछि जिल्लाबाट प्राविधिक सहितको टोलीले अनुगमनसमेत गरेको उपभोक्ता समितिले जनाएको छ । निर्माण सम्पन्न गरेलगत्तै सञ्चालनमा ल्याइएको सडक गुणस्तरीय भएको अनुगमन टोलीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्