बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने स्थितिमा



पेरिस, (एजेन्सी)
युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग ४–० ले हारेपछि प्रतियोगिताबाट बाहिरिने सम्भावना सिर्जना भएको छ।

मंगलबार राति फ्रेन्च लिग च्याम्पियन पीएसजीको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले लज्जास्पद हारको सामना गर्नुपरेको हो। च्याम्पियन्स लिगको पछिल्ला केही वर्षहरूको प्रदर्शनको तुलनामा बार्सिलोनाको यो नै सबैभन्दा लज्जास्पद हारसमेत बन्यो।

जितसँगै पीएसजीले च्याम्पियन्स लिगअन्तर्गत सन् २०१३ र २०१५ को क्वाटरफाइनलमा बार्सिलोनासँग भएको हारको बदलासमेत लिएको छ। पार्क डेस प्रिन्सेसमा भएको उक्त खेलमा पीएसजीले पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल गरेका थिए।

खेलमा पीएसजीलाई शानदार जित दिलाउन अर्जेन्टिनी खेलाडी एन्जल डी मारियाले दुई तथा जुलियन ड्राक्सलर र एडिन्सन काभानीले एक–एक गोलको योगदान गरेका थिए। दुई गोल गरेर जन्मदिनको अवसरलाई विशेष बनाएका डी मारियाले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए।

यस्तै ड्राक्सलरले खेलको ४०औं मिनेटमा गोल गरेपछि घरेलु टोली पहिलो हाफसम्म दुई गोलले अघि रह्यो। खेलको ५५औं मिनेटमा मारियाले डी एरियाभन्दा बाहिरबाट गरेको कडा प्रहार गोलमा परिणत भएपछि पीएसजीको गोलसंख्या तीन पुगेको थियो। खेलको ७१औं मिनेटमा एडिन्सन काभानीले पीएसजीका तर्फबाट चौथो गोल सम्भव पारे।

खेलमा बार्सिलोनाले पनि गोलका लागि प्रयासहरू गरेका थिए। तर पीएसजीको सेन्टर ब्याक प्रेसनल किम्पेम्बेको शानदार प्रदर्शनले बार्सिलोनाको आक्रमण निस्तेज बनेको थियो। क्वाटरफाइनल प्रवेशका लागि बार्सिलोनाले घरेलु मैदानमा आगामी ८ मार्चमा हुने खेल कम्तीमा पनि ५–० ले जित्नुपर्ने दबाब बढेको छ।
यूएफा च्याम्पियन्स लिगअन्तर्गत मंगलबारै राउन्ड अफ सिक्सटिनको पहिलो लेगअन्तर्गत नै भएको अर्को खेलमा पोर्चुगलको बेनिफिकाले जर्मनीको बोरुसिया डर्टमन्डलाई १–० ले पराजित गरेको छ। बेनिफिकालाई जित दिलाउन कोस्टान्टिनोसले खेलको ४८औं मिनेटमा गरेको गोल नै निर्णायक सावित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्