रामकृष्णको गीतमा शृंगारलाई पनि लाज लाग्ने !



शृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने
फूलले बास्ना सापटी माग्ने, चन्दनले छुँदा दाग लाग्ने
यस्तो को हो तिमी ?

सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकाल मंगलबार प्रेम दिवसका अवसरमा यस्तै भावना र स्वरका साथ प्रेमिल भए। ‘विश्वभर माया गर्नेहरुका लागि विशेष पर्व। विश्वभर रहेका मानिसहरुले यो दिनलाई प्रेमको भाव साट्दै सेलिब्रेसन गरिरहेका छन्, गायक ढकालले सो प्रेमिल भावनाको आफ्नो गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गर्दै भने– ‘यही, दिनको अवसर पारेर मैले आफ्ना फ्यान, स्रोता र माया गर्ने मनहरुका लागि भ्यालेन्टाइन विशेष गीत सार्वजनिक गरेको हुँ।

शृङ्गारलाई पनि लाज लाग्ने बोलको यो गीतमा गायक ढकालको एकल स्वर छ भने दावा गुरुङको संगीत, मनिष वशिष्टको शब्द रचना र सुमित विश्वकर्माको संगीत संयोजन रहेको छ।
राजधानीमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको यसको म्युजिक भिडियोमा गायक ढकालकी पत्नी नीलम शाह ढकालले मोडलिङ गरेकी छन्। उनलाई मोडल तथा नायक मञ्चिन शाक्यले मोडलिङमा साथ दिएका छन्। निकेश खड्काले निर्देशन गरेको यो म्युजिक भिडियोको छायांकन अर्जुन तिवारी र सम्पादन निशान घिमिरेले गरेका छन्। कालिञ्चोकको हिउँमा खिचिएको यो भिडियो दृश्य मनमोहक छ।

गायक ढकालले हालैमात्र आयोजना भएको हिट्स एफएम म्युजिक अवार्डमा म हुरीमा दियो बोलको गीतबाट ह्याट्रिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्