ताला फोड, चुनाव गराऊ



ईश्वरराज ढकाल, काठमाडौं
रकारले प्रहरी परिचालन गरी क्याम्पसको ताला फोडेर भए पनि फागुन १४ गते नै निर्वाचन गर्ने तयारी गरेको छ।

नेविसंघका असन्तुष्ट पक्ष र विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीले माघ अन्तिम सातादेखि स्ववियु निर्वाचनको विरोध गर्दै राजधानीलगायत शहरका केही क्याम्पसमा तालाबन्दी गरेका थिए।

पूर्वनिर्धारित कार्यक्रमअनुसार गएको पाँच दिनअघि फागुन १ गते विप्लव र नेविसंघका असन्तुष्ट पक्षले तालाबन्दी गरेका छन्।

नेवि संघका असन्तुष्ट नेता मनोज वैद्य निकट विद्यार्थीले तालाबन्दी गरेका थिए। चुनाव विरोधी कार्यक्रम गर्दै गरेका विप्लव निकट विद्यार्थीले तीन दिनअघि केन्द्रीय निर्वाचन प्रमुख त्रिविका रेक्टर प्राडा सुधार त्रिपाठीको गाडीमा समेत आगजनी गरेका थिए।

विप्लव निकट विद्यार्थी संगठन र नेविसंघका असन्तुष्ट पक्षले चुनाव रोक्न चेतावनी दिएपछि आत्तिएका पदाधिकारीले हिजो बुधबार प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतासँग राय लिन पुगेका थिए।

क्याम्पस प्रमुखहरूको समेत सुझावको आधारमा निर्वाचन सार्ने तयारी गर्दै त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित नेपाली कांग्रेस र एमालेका अध्यक्षसँग राय लिन पुगेका पदाधिकारीलाई तीनै जना नेताले जुनसुकै अवस्था भए पनि चुनाव गर्न निर्देशन दिएका थिए।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने त्रिवि विद्यार्थी कल्याण परिषद्का अध्यक्ष गंगाबहादुर थापामगर, त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँ, रेक्टर प्राडा त्रिपाठी र रजिष्ट्रार प्रा. डिल्ली उप्रेतीको सहभागिता थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब एक घण्टा भएको बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीको उपस्थिति रहेको थियो। बैठक शुरू हुनासाथ त्रिविका पदाधिकारीले अवस्था जटिल बन्दै गएकाले निर्वाचन गर्न समस्या परेको उल्लेख गरेका थिए।

त्रिविका कुलपति एवम् प्रधानमन्त्री दाहालले सरकारले जस्तोसुकै सुरक्षा व्यवस्था दिएर भए पनि फागुन १४ गते नै स्ववियुको निर्वाचन गराएरै छाड्ने बताउनुभएको थियो। सरकारले निर्वाचन गराउन सक्छ भनेर विश्वास दिलाउन भए पनि स्ववियुको निर्वाचन सम्पन्न गराएरै छाड्ने बताउनुभएको थियो।

‘तपाईंहरूले अब चुनाव रोक्ने कुरै नगर्नुहोला, जसरी हुन्छ चुनाव गर्नुस्। सरकार जस्तोसुकै सुरक्षा दिन तयार छ। –बैठकमा प्रम दाहालले बताउनुभएको थियो।

विधिको शासन र लोकतान्त्रिक पद्धतिलाई जोगाइराख्नसमेत निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै प्रम दाहालले भन्नुभयो– ‘देशमा निर्वाचन हुन नसकेको अवस्थामा चुनावी पद्धतिलाई अवरुद्ध हुन दिँदैनौं।

एमाले अध्यक्ष ओलीले २१ गतेदेखि एमालेको मेची महाकाली अभियान भएकाले फागुन १४ गते नै स्ववियु निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको थियो। पार्टीले जानी बुझी, नापी तौली र सबै हिसाब किताब गरेर कसैको कुनै पनि कार्यक्रम नजुधून् भनेर फागुन २१ देखि मेचीकाली अभियान राखेकाले फागुन १४ गते नै निर्वाचन हुनुपर्ने अडान दोहोर्याउनुभएको थियो।

ओली बोल्नुअघि त्रिविले एक सातापछि चुनाव सार्न प्रस्ताव गरेको थियो। चुनावको मिति केही दिन पर सरे विप्लव माओवादीले समेत निर्वाचनमा भागलिन सक्ने अड्कल गर्दै मिति सार्ने प्रस्ताव अघि सारिएको थियो।

तर ३ जना नेताले चुनावको मिति सार्न नहुने बरु प्रक्रियालाई छोटइउन आग्रह गरेका थिए। अन्तिममा बोल्नुभएका कांगे्रसका सभापति देउवाले जसरी भए पनि फागुन १४मै निर्वाचन गर्नुपर्ने बताउनुभएको थियो।

उहाले कुनै पनि स्थानमा नेविसंघले ताला नलगाएको दाबी गर्दै संगै रहेका नेविसंघका अध्यक्ष नैनसिंह महरलाई भन्नुभएको थियो– ए ल नेविसंघले ताला लगाएको छ नैन जी ? यदि छ भने भन्नुस् र ताला खोल्ने वातावरण तयार गर्नुस्।

तीन दलका अध्यक्षसहितको बैठकमा विद्यार्थी संगठनका तीन अध्यक्षले जसरी भए पनि निर्वाचन गर्न माग गरेका थिए। उता उपत्यकाका क्याम्पस प्रमुखहरूले क्याम्पसमा त्राश बढेको अवस्थामा निर्वाचन गर्न नसक्ने राय दिएका थिए।

त्रिविका पदाधिकारीहरू निर्वाचन गर्ने मुडमा अघि बढेका छन्।

प्रतिक्रिया दिनुहोस्