पठन सीप विकासका लागि प्रारम्भिक पढाइ कक्षा सञ्चालन



भक्तपुर, (नेस)
१ देखि ३ कक्षामा अध्ययन गर्ने विद्यार्थीको पठन सीप कमजोर देखिएपछि पठन सीपमा सुधार गर्न जिल्लाका १ सय २९ सामुदायिक विद्यालयमा प्रारम्भिक पढाइ कक्षा सञ्चालन गरिएको छ।

चालू शैक्षिक सत्रदेखि शुरू भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय भाषाका पाठ्य तथा सिकाइ सामग्रीहरूको गुणस्तर सुधारमा जोड दिइएको शिक्षा विभागका उपनिर्देशक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

अर्ली ग्रेड रिडिङ मूल्यांकनले कक्षा २ मा अध्ययनरत ६४ प्रतिशत र कक्षा ३ मा अध्ययनरत ८१ प्रतिशत बालबालिकामा नेपाली पठन सीप अत्यन्तै न्यून रहेको तथ्य फेला परेको थियो। उक्त मूल्यांकनअनुसार अधिकांश विद्यार्थीको पठन सीप अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै कम रहेको पाइएको छ। प्रारम्भिक पढाइ कक्षाको पठन सीपअन्तर्गत सुनाइ, पढाइ, लेखाइ र बुझाइका आधारमा विद्यार्थीको सिकाइ सुधार गर्ने कार्यक्रमको लक्ष्य रहेको उनले बताए।

नेपालका विद्यार्थीको पठन सीप दक्षिण एसियामै कमजोर रहेको अनुसन्धानले देखाएको बताउँदै उपनिर्देशक अधिकारीले १ देखि ३ कक्षाका विद्यार्थीको पठन सीप विकास गर्न नेपाल सरकार र अमेरिकी सरकारबीच सम्झौता भई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनईजीआरपी) सञ्चालन गरिएको बताए।
राष्ट्रिय पढाइ कक्षा सञ्चालन बारे जानकारी दिन आयोजित कार्यक्रममा भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले भक्तपुरका प्राथमिक तहका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको र यो कार्यक्रमले विद्यार्थीको आकर्षण बढ्दै गएको बताए।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको पञ्चवर्षीय कार्यक्रमअन्तर्गत नमुनाका रूपमा भक्तपुरसहित कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरी गरी ६ वटा जिल्लामा राष्ट्रिय प्रारम्भिक पढाइ कक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमकी सहजकर्ता हितकुमारी गुरुङले बताइन्।

कार्यक्रमबाट ६ जिल्लाका ५ हजार समुदाय परिचालन भई ७ लाख विद्यार्थी, १५ हजार प्रावि शिक्षक र ५ हजार प्रधानाध्यापक लाभान्वित भइरहेको उनले जानकारी दिइन्। नियोगको ५ करोड ३८ लाख डलर सहयोगमा सञ्चालित उक्त कार्यक्रम एक वर्षअघि नै सञ्चालनमा आए पनि यो वर्षबाट मात्र विद्यालय तहमा लागू भएको हो।

प्रतिक्रिया दिनुहोस्