सरकार निर्वाचनदेखि डरायो ः पोखरेल



नेपाल समाचारपत्र
भक्तपुर
नेकपा एमाले नेता तथा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनबाट भाग्न खोजिरहेको बताउनुभएको छ।

रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले सरकार संविधान कार्यान्वयनमा भन्दा संविधान संशोधनको अड्को थाप्दै सरकारले निर्वाचन नगर्न अनेक नाटक मञ्चन गरिरहेको बताउनुभयो।

उहाँले सरकार संविधान कार्यान्वयनलाई भन्दा संविधान संशोधनको नाममा संसद्लाई अड्काएर निर्वाचन गर्न नदिने षड्यन्त्रमा लागेको बताउनुभयो। निर्वाचन नगर्नु भनेको दक्षिणपन्थी अतिवादी शक्तिलाई प्रश्रय दिनु, संविधान कार्यान्वयन हुन नदिनु र मुलुकलाई असफल राष्ट्र बनाउने खेलमा सरकार लागेको आरोप लगाउनुभयो।

तीन तहको निर्वाचन गर्नुपर्ने सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगर्नु निर्वाचन नगर्ने बहाना भएको भन्दै आगामी जेठ १५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने र स्थानीय पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई जस्ताकोतस्तै कार्यान्वयन गरेर सरकारले निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले मधेसी मोर्चासँग एमालेको वार्ता भए पनि संविधान संशोधन र निर्वाचनको विषयमा सहमति हुनै नसक्ने बताउनुभयो। एमालेले संविधान संशोधनलाई असफल बनाएर छाड्ने बताउँदै सरकार संविधान कार्यान्वयनलाई भन्दा संविधान संशोधनको विषयलाई अड्कोको रूपमा अगाडि सारेर संसद्लाई गतिरोध बनाउँदै बैठक सञ्चालन गर्न नदिएको बताउनुभयो।

तराईलाई विभाजन गर्ने डिजाइनअनुसार ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिएको र यसले राष्ट्रियतामाथि गम्भीर असर पर्ने भएकाले संविधान संशोधन कुनै पनि हालतमा पारित गर्न नदिने उहाँले बताउनुभयो।

संविधान संशोधन आवश्यकताको आधारमा हुने र यसको विपक्षमा एमाले नरहेको प्रस्ट पार्दै उहाँले ५ नम्बर प्रदेशलाई विभाजन गर्ने माग मधेसी मोर्चा वा त्यहाँको जनताको नभई अन्तैबाट आयातित भएकाले त्यसलाई एमालेले असफल बनाएर छाड्ने बताउनुभयो।

उहाँले संविधान, ऐन कार्यान्वयनको विषय जटिल हुँदाहुँदै सरकारले प्रहरी महानिरीक्षकमा वरियता क्रम मिचेर आईजीपी नियुक्ति नगरी अरूलाई गर्नुले सरकारको काम र शैली स्पष्ट भएको बताउनुभयो।

न्यायालयको मूल्य र मान्यतालाई समेत वर्तमान सरकारले ख्याल नगरेको उहाँको भनाइ छ। उहाँले शान्ति सुरक्षा कायम गर्नुभन्दा वरिष्ठताको आधारमा पहिलो व्यक्तिलाई आईजीपी नियुक्ति नगरिकन मर्यादा क्रमलाई उल्लंघन गरेरको आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्