२२ वटामध्ये १६ क्याम्पसमा स्ववियु चुनाव



नेपाल समाचारपत्र
काभ्रेपलाञ्चोक
त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको फागुन १४ गतेको स्ववियु निर्वाचन हुने नहुने अनिश्चित भइरहेका बेला प्रमुख तीन दलले राजधानीमा जसरी पनि तोकिएकै मितिमा निर्वाचन गर्ने निर्णय गरेसँगै जिल्लामा विद्यार्थी संगठनले तयारी तीव्र बनाएका छन्।

एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीले संगठन दर्ता गरी उम्मेदवारसमेत चयन गरेका छन्। केही दलले निर्वाचनमुखी प्रचारात्मक अभियान शुरू गरे पनि उम्मेदवारहरूका बारेमा अझै टुंग्याउन सकेका छैनन्। नेविसंघ र अखिल क्रान्तिकारीले साँझ अबेरसम्म त्यसको टुंगो लगाउन सकेका छैनन् भने एमाले निकट अनेरास्ववियुले भने जिल्लाका १६ क्याम्पसमा नै उम्मेदवार छनोट गरेको छ।

जिल्लाका २२ क्याम्पसमध्ये १६ वटा मात्रै पब्लिक क्याम्पसका रूपमा दर्ता भएका छन्। बनेपामा रहेको प्राइम, दीपिका, ज्ञानकुञ्ज, मिलिनियम र बनेपा क्याम्पस, पाँचखालमा रहेको जीवन दर्शन क्याम्पस प्राइभेट हुन्। अन्य प्रभा, प्रकाश, डेडिथुम्का, सर्वमंगला, धुलिखेल क्याम्पस, सञ्जीवनी कलेज, चैतन्य, काभ्रे, तेजगंगा, इन्द्रेश्वर, कुशादेवी, पार्वती, श्रीकृष्ण, जनक, कानपुर र मंगल जनविजय क्याम्पसमा प्रमुख तीन पार्टीका भ्रातृ संगठन अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले संगठन दर्ता गराएका छन्।

मंगलटारको मंगल जनविजय क्याम्पसमा अखिल क्रान्तिकारीले संगठनको नाम दर्ता गरेको छैन। क्याम्पसहरूमध्ये सबैभन्दा कम विद्यार्थी कानपुर क्याम्पसमा रहेका छन्। कानपुरमा १३ जना विद्यार्थी रहेका छन् भने सबैभन्दा धेरै काभ्रे क्याम्पसमा ४ सय ६४, पार्वती क्याम्पसमा ५६ जना, प्रभामा ६१, डेडिथुम्कामा ८४, सर्वमंगलामा २ सय २४, सञ्जीवनी कलेजमा ८६, इन्द्रेश्वरमा १ सय ५८, कुशादेवी १ सय ४, दाप्चाको श्रीकृष्णमा ४५, मंगल जनविजयमा ५६ जना, जनक क्याम्पसमा २६ जना विद्यार्थी रहेका छन्। तालाबन्दीका कारण बनेपाको चैतन्य, प्रकाश क्याम्पस, धुलिखेल क्याम्पसले विद्यार्थीको सूची सार्वजनिक हुन सकेको छैन।

सबै क्याम्पसमा विद्यार्थी संगठनले विजयीका लागि प्रचारप्रसारलाई तीव्र बनाएका छन्। पब्लिक क्याम्पस संघ र विद्यार्थी संगठनबीच भएको बैठकले सबै क्याम्पसमा शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ। केही क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघ कमजोर देखिएको छ भने केही क्याम्पसमा अखिल कमजोर देखिएको छ। बनेपाको मुटु मानिएको काभ्रे बहुमुखी क्याम्पसमा एमाले निकट अखिल बलियो देखिएको छ।

एमाले निकट अखिल क्याम्पस जिल्ला कमिटी अध्यक्ष नवराज सापकोटा, स्कुल जिल्ला कमिटी अध्यक्ष हरिशचन्द्र घिमिरेले सबै क्याम्पसमा संगठन दर्ता गरी उम्मेदवारसमेत तय भइसकेकाले प्रचारप्रसारको कामलाई तीव्रता दिइएको बताए। त्यस्तै नेविसंघका अध्यक्ष नृपेश वादेले सबै क्याम्पसमा नेविसंघले संगठन दर्ता गरी उम्मेदवारहरू चयन हुने काम भएको बताए। त्यस्तै अखिल क्रान्तिकारीले पनि सबै क्याम्पसमा संगठन दर्ता गरी अभियानलाई तीव्र बनाएको छ। केही क्याम्पसमा उम्मेदवारसमेत तय भइसकेको अखिल क्रान्तिकारीका अध्यक्ष सुरेन्द्र खड्काले जानकारी दिए।

अखिलबाट काभ्रे क्याम्पस, बनेपामा नवराज ढकाल, प्रभा क्याम्पस, कोसीपारिमा तेजप्रसाद खरेल, डेडिथुम्का क्याम्पस, महादेवस्थानमा शालिकराम पराजुली, सर्वमंगला क्याम्पस पाँचखाल सुरेश अधिकारी, धुलिखेल क्याम्पस, धुलिखेलमा कृष्ण श्रेष्ठलगायतको उम्मेदवारी तयार गरेको छ।

प्रतिक्रिया दिनुहोस्