विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता



(विनोदसिंह विष्ट)
बैतडी, ४ फागुन । जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन् ।

श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर वडाका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्न बाध्य भएका हुन् । वडा नं ९ मा कक्षा ५ सम्मको मात्र विद्यालय रहेकाले कक्षा ६ देखि पढ्नलाई वडा नं ४ मा रहेको सनातन धर्म मावि खोचलेक जाने गर्दछन् ।

बिहान ८ बजे विद्यालय आउनुपर्छ, बेलुका ६ बजे मात्र घर पुगिन्छ, कक्षा ८ मा अध्ययनरत छात्र रमेश गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक ४ घन्टा हिँड्नुपर्ने बाध्यता छ ।”

शिक्षकले दिएको गृहकार्य पनि ४ घन्टा हिँड्नुपर्दा गर्न सकिँदैन, कक्षा ७ का छात्र रोशन गिरीले भन्नुभयो, “उज्यालो हँुदा विद्यालयको तयारी गर्नुपर्छ, अँध्यारो हुँदा घर पुगिन्छ ।” विद्यालय पढ्नकै लागि भनेर यसरी दैनिक ४ घन्टा हिँड्न बाध्य भएको कक्षा १० की छात्रा सुन्नरी गिरीले बताउनुभयो । “सधैँ ढिलो गरी विद्यालय पुगिन्छ”, उहाँले भन्नुभयो, “शिक्षकले सधैँ कक्षाकोठामा पढाउन सुरु गरिसकेपछि पुग्छौँ, हाम्रो यो बाध्यतालाई कसैले बुझ्दैन ।”

टाढाको बाटो हिँडेर आउँदा मानसिक तथा शारीरिक थकानका कारणले श्रीकोट वडा नं ९ का विद्यार्थीको पढाइप्रति रुचि घट्दै जाने शिक्षक रमेश नाथले जानकारी दिनुभयो । कक्षाकोठामा पनि ढिलै पुग्ने गरेको उहाँले बताउनुभयो । गृहकार्यसमेत खासै गरेको देखिँदैन । विद्यार्थी सधैँ थाकेर आउने गरेको र कहिलेकाहीँ त कक्षाकोठामै सुत्ने गरेको उहाँको भनाइ छ ।

आफ्नै वडामा माविसम्मको विद्यालय भएको भए यस्तो बाध्यता हट्ने स्थानीय अभिभावक हेमराज गिरीकोे भनाइ छ । “यसरी दैनिक ४ घन्टा हिँडेर विद्यालय जानुपर्ने हुँदा राम्रोसँग पढ्न पाउँदैनन्”, उहाँले भन्नुभयो, “विद्यालयमा पढेको कुरा घर जाँदा थाकेर बिर्सिहाल्छन् ।” बाटोको समस्या तथा स्थानीय बगडीगाड खोलामा पुल नहुँदा विद्यार्थीलाई झनै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

बर्सादको समयमा स्थानीय बगडीगाड खोलाका कारण विद्यालय पढ्न नसक्ने श्रीकोट–९ का विद्यार्थीको बाध्यता रहको छ । बगडीगाड खोलामा पानीको सतह बढेर खोला तर्न नसकेर बर्सादको समयमा पढाइ प्रभावित हुने गरेको छ । खोचलेकमा रहेको सनातन मावि एक मात्र श्रीकोट गाविसको कक्षा १२ सम्म पढाइ हुने विद्यालय हो । गाविसबाट पाउने सेवासुविधाबाट समेत वडा नं ९ का स्थानीय बासिन्दा पनि बन्चित हुने यस्तै बाध्यता रहेको छ । सडक सञ्जालसमेत नजोडिएकाले खाद्यान्नका लागिसमेत दैनिक ४ घन्टा हिँडेर लैजानुपर्ने बाध्यता रहेको छ ।

गाउँ परिषद्बाट छुट्याउने योजनामा समेत सौतेनी व्यवहार गर्ने गरेको ९ नंका स्थानीय बासिन्दाको आरोप रहेको छ । स्थानीय राजनितिक दलले आफ्नो वडाका योजना मात्र परिषद्मा पारित गर्ने गरेका छन् ।

वडा मञ्चबाट आएका योजनालाई समेत काटेर राजनीतिक दलले आफ्ना वडामा हाल्ने गरेको समेत स्थानीयवासीको आरोप रहेको छ । ९ नं वडालाई सधैँ श्रीकोट गाविसले सौतेनी व्यवहार गर्ने गरेको बताइएको छ । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा श्रीकोटका साथै देउलेक, कटौजपानी, न्वाली, हटैराज, सित्तड, श्रीकेदारलगायत गाविसका विद्यार्थी अध्ययनरत रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्