एनसेलमा फेसबुक फ्रि



नेपाल समाचारपत्र
काठमाडौं
एनसेलका ग्राहकले अब मोबाइल डेटा सपोर्ट गर्ने मोबाइल फोनबाट फेसबुक निःशुल्क चलाउन पाउने भएका छन्। ‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा ‘फेसबुक फ्रि’ योजना सार्वजनिक गरेको हो।
फेसबुक फ्रि योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एन्ड्रोइड मोबाइल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरू अपलोड गर्न, अरूको स्ट्याटस हेर्न, लाइक, शेयर तथा कमेन्ट गर्न सक्नेछन्। एनसेलको यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ। यो बटन क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन।

‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजना ल्याउन पाउँदा हामी हर्षित छौं। यसले ग्राहकलाई सामाजिक सञ्जालमार्फत देश विदेशमा रहनु भएका आफन्त, साथीभाईसँग सजिलै सम्पर्कमा रहन र इन्टरनेट सेवाको जनघनत्व बढाउन मद्दत पुर्याउनेछ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भन्नुभयो।
एनसेलले सरकारसँग सहकार्य गर्दै सन् २०२० भित्र सबै गाविसमा इन्टरनेट पुर्याउने लक्ष्य प्राप्त गर्नमा योगदान पुर्याउन कटिबद्ध रहेको पर्किन्सले बताउनुभयो। पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरसिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरुपमा फेसबुक फ्रि योजना मंगलबार सार्वजनिक गरेका थिए।

‘एनसेलसँगको सहकार्यमा नेपालमा फेसबुकको यो सामाजिक अफर ल्याउन पाएकोमा हामी हर्षित छौं। यस्तो अफरले नेपालमा थप कनेक्टिभिटी सुनिश्चित गर्दै थप व्यक्तिलाई इन्टरनेटमा जोड्न योगदान पुर्याउने विश्वास छ,’ नाइग्रेनले भन्नुभयो। फेसबुक फ्रि अफर फागुन ४ गतेबाट लागु भई ९० दिनको लागि रहनेछ।

प्रतिक्रिया दिनुहोस्