व्यस्त जीवन र बदलिँदो जीवनशैलीसँगै सामाजिक विधि व्यवहारअन्तर्गत बिहे, ब्रतबन्ध, पास्नीलगायत सामाजिक व्यवहारहरू पनि विभिन्न इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत् गराउने क्रम बढेको छ। साथै व्यावसायिक काम त छँदैछ। यसले करको नयाँ दायरा बढ्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरेको छ। यसै क्षेत्रमा लामो समयदेखि संलग्न हुँदै आएको एभेरस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टका निर्देशक सिद्धार्थ रिमालसंँग नेपाल समाचारपत्रले गरेको कुराकानी।
तपाईको इभेन्ट म्यानेजमेन्ट कम्पनीले हाल गर्दै आएका मुख्य कार्य के–के हुन् ?
इभेन्ट म्यानेजमेन्टअन्तर्गतका कार्यलाई हामी दुई किसिमले वर्गिकरणले गरेका छौं। एउटा कर्पोरेट इभेन्ट, दोस्रो सामाजिक इभेन्ट। नयाँ–नयाँ उत्पादन बजारमा ल्याउन गर्ने समारोह, फेसन शो, विभिन्न बैंक, कम्पनी र वित्तीय संस्थाको साधारणसभा, पिकनिक गरिदिने कार्य करर्पोरेट इभेन्टअन्तर्गत हँुदै आएका काम हुन्। दोस्रो सामाजिक इभेन्टअन्तर्गत विवाह, ब्रतबन्ध, पास्नीलगायतका कार्य भोज भतेरको व्यवस्थापन गर्ने काम गर्दै आएका छन्।

बजारमा सामाजिक इभेन्ट म्यानजेमेन्टको माग कत्तिको रहेको छ।

जीवनशैलीमा आएको परिर्वतन, व्यस्त जीवन, सामूहिकताबाट व्यक्तिवादीतिर लम्किँदै गएको जनजीवनले गर्दा बजारमा सामाजिक इभेन्टको माग बढ्दो छ। कसैको समय अभाव, कसैको घरमा ठाउँ नभएर बिहे, ब्रतबन्धलगायत सामाजिक व्यवहारका कार्य गर्न कठिनाई भइरहेको छ। यसले गर्दा बजारमा सामाजिक इभेन्टको माग विस्तारै बढ्दै गएका छन्। यस क्रममा हामीले विवाह, ब्रतबन्धका लागि केही समय बस्न आवास मिलाइदिने काम पनि गर्दै आएका छौं। विदेशबाट आउने नेपालीले पनि यस्तो सुविधा मन पराएको अवस्था छ। विवाह, ब्रतबन्ध, पास्नीलगायतका सामाजिक व्यवहारसँग सम्बन्धित जे जस्तो कार्य पनि हामीले गर्दै आएका छौं। विवाहको कार्ड छाप्नेदेखि लिएर केटा पार्टी, केटी पार्टी, सम्धिनी भेटघाटलगायत सबै कामको व्यवस्थापन गर्दै आएका छौ। यसलाई पूरा प्याकेज र आधा प्याकेज भनेर हामीले वर्गिकरण गरेका छौं।

पूरा प्याकेजअन्तर्गत बस्ने ठाउँ उपलब्ध गराइदिने, रोजाईअनुसार त्यही घरमा गएर खाना बनाउनेदेखि लिएर, लुगा सिलाइदिने, कार्ड छापाइदिने पूजा सामग्री, जग्गे बनाइदिनेलगायत जम्मै काम गर्दछौं। यसमा बजारको माग रहेको छ। यो एउटा नयाँ व्यवसाय हो। यस किसिमको व्यवसाय गर्दै आएको करिब १२, १३ वर्ष भइसकेको छ। बजारमा क्रमशः यस्तो व्यवसायको माग बढिरहेको छ।

सामाजिक इभेन्ट गर्दाको अनुभव कस्तो रहेको छ ?

विवाह गर्दा एउटा कार्य काकाले, अर्को मामाले, फुपुले हेरिदिने परम्परा छ। त्यस्तो बेला केही व्यवस्थापन तलमाथि भए पनि ठिकै छ भनेर लिन्थ्यो। इभेन्ट कम्पनी भनेर गइसकेपछि सम्झौता गर्दैनन्। सामाजिक इभेन्ट गर्दा ठाउँ, परिवेश, समुदायअनुसार फरक हुने गर्दछ। परिवारपिच्छे धेरै सुझाव दिने गर्दा रहेछन्। इभेन्ट म्यानेजमेन्ट गर्दा परिवारको सदस्य, आफन्तले यो भएन, त्यो भएन भनेर आउने गर्दछन्। दिएका विभिन्न सुझावबीच मिलाउन, सबैलाई चित्त बुझाउन कहिलेकाहीँ गाह्रो पनि हुने गर्दछ। बिहे गर्ने क्रममा कहिलेकाहीँ अन्तिम समयमा यो गरौं, त्यो गरौं भनेर प्रस्ताव आएको हुन्छ। यसले गर्दा व्यवस्थापन कार्यमा कठिनाई हुने गर्दछ।

सामाजिक इभेन्टको मागले नेपाली समाज क्रमशः आधुनिकतातर्फ वा परिर्वतन हुँदै गएको निष्कर्ष निकाल्न सकिन्छ ?

सामाजिक व्यवहार गर्ने क्रममा परम्परादेखि जे जस्तो गर्दै आएको हो, इभेन्ट म्यानेजमेन्ट गर्दा त्यही गरिदिने हो। कम्पनीमार्फत् भइरहेको कार्यलाई राम्ररी प्रस्तुत गर्ने मात्र हो। केही सामान, नयाँ थप्ने मात्र हो। पहिलेको तुलनामा मानिस निकै व्यस्त भएका छन्। त्यसले गर्दा सामाजिक विधि व्यवहार गर्नुपर्यो भने धेरै दिन बिदा लिन नमिल्ने, छुट्टी नमिल्ने कारणले कम्पनीमार्फत् सामाजिक इभेन्ट गर्ने क्रम बढेको हो। विवाह, भोज भतेर गर्ने तरिकामा परिर्वतन आएको छ। यसमा विश्वव्यापी भूमण्डलीकरण, सिनेमाले पनि प्रभाव पारेको छ। विदेश जाने आउने क्रममा देखेकाले त्यसमा परिर्वतन ल्याएको छ। तर, बिहे गर्दा अपनाउने धार्मिक र परम्परागत विधि व्यवहार त उही हो नि। क्रियाकलाप उही भए पनि संख्या र परिमाण घटबढ हुने गर्दछ।

सामाजिक इभेन्टको योजना बनाउन कति समय खटिन पर्ने हुन्छ ?

हामीले अमेरिकामा पनि कम्पनी छ। अमेरिकामा बस्ने नेपालीको मागअनुसार नेपालबाट सामान पठाउँछौं। सामाजिक इभेन्ट म्यानेजमेन्ट गर्दा सकेसम्म दुई महिना समय लाग्ने गर्दछ। दुई महिनाको समय पायो भने व्यवस्थापनको योजना बनाउन सजिलो हुनेछ।

पूरा प्याकेज र आधा प्याकेजमा काम गर्न कतिको शुल्क लाग्ने गर्दछ।

शुल्क त फरक–फरक हुन्छ। खानाअनुसार हुन्छ। ठाउँ हेरर सम्बन्धित व्यक्तिको घरमा व्यवस्थापन गर्ने हो औसतमा विवाहको व्यवस्थापन गर्न ६ देखि ७ लाख चाहिने हुन्छ।

सामाजिक इभेन्ट गर्ने कार्य पनि व्यवसाय हुन सक्छ भन्ने सोच कसरी आयो ?

कर्पोरेट इभेन्ट गर्दै जाने क्रममा कर्पोटमा आबद्ध व्यक्तिहरूले नै सामाजिक व्यवहारको म्यानेजमेन्ट गर्न आग्रह गर्न थाल्नुभयो। यस्तो काम गर्दागर्दै सामाजिक इभेन्टको माग बढिरहेको छ भन्ने अनुभूति भयो। यही क्रममा सामाजिक इभेन्ट व्यवस्थापनको पनि सोच आएको हो।

सामाजिक इभेन्टको गर्ने क्रममा आएका मुख्य मुख्य चुनौतीहरू के–के हुन् ?

शुरूमा सामाजिक इभेन्ट गर्ने कोही छैन। हामीले गर्दै गएपछि सामाजिक इभेन्ट गर्ने कम्पनीहरू खुल्न थालेको छ। कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चल्न थालेको छ। कम्पनी म्यानजमेन्टको दर जथाभावी लिने गरेका छन्। यसले गर्दा हामी जस्तो गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने कम्पनीलाई मर्का परेको छ। सामान्य पसलमा कोकाकोलाको मूल्य ३० रुपियाँ हुने गर्दछ। त्यही कोककोलालाई रेष्टुरेन्टमा खान पर्यो ६०⁄ ७० रुपियाँ लिने गर्दछ। कोक त कोक नै हो। कहाँ बसेर खाने भन्ने पनि महत्त्वपूर्ण हुने गर्दछ। तर, ग्राहकले कम पैसा लियो भनेर मख्ख पर्ने गर्दछन्। कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धाले गर्दा हामीलाई चुनौती थपिएको छ। त्यसैले बिहे जस्तो कुरा जीवनमा एकचोटी गर्ने हो। यो मानिसको प्रतिष्ठासंँग जोडिएको विषय पनि हो। यसमा मूल्य मात्र नहेरेर गुणस्तरीय सुविधा दिन्छ कि दिँदैन भनेर ग्राहकले हेर्नुपर्दछ।

बिहे, ब्रतबन्ध भड्किलो तरिकाले गर्नुहुँदैन भन्ने सामाजिक व्यवहार सुधार ऐन पनि छ। तैपनि मानिस ले यसलाई निकै ठूलो प्रतिष्ठाको विषय बनाएर जीवनभरको कमाई खर्च गर्ने गर्दछ। त्यसमाथि इभेन्ट म्यानेजमेन्टले त मानिसको फजुल खर्च झन् बढाएको जस्तो लाग्दैन ?

इभेन्ट म्यानजमेन्टलाई व्यवसायका रुप लिएपछि धेरै विषयमा करको दायरा बढेको छ। सरकारलाई तिर्ने राजस्व बढेको छ। रोजगारको अवसर सिर्जना भएको छ। बजारको रुपमा विस्तार हुँदै गएको छ। इभेन्ट म्यानेजमेन्ट अन्तर्गत गरिने खर्चलाई फजुल खर्च भन्न मिल्दैन। हो, हामीले घाँटी हेरेर हाड निल्नुपर्दछ। हामीलाई राम्रो सामान, खाना राम्रो मूल्यमा पाउँछ भनेर मानिसलाई थाहा हुन्छ। यसले समय र पैसा दुवैको बचत हुन्छ।

सामाजिक विधि व्यवहारका कार्य कम्पनीमार्फत् गराउने कार्य कुन स्तरका मानिसले गर्ने गर्दछ ?

सामान्यतया मध्यवर्गका मानिसले कम्पनीमार्फत् सामाजिक व्यवहार गराउँदै आएका छन्।

यस्तो इभेन्ट गर्ने कम्पनीलाई कुन ऐनअन्तर्गत दर्ता गराउनुभएको छ ?

हामीले एड एन्ड इभेन्ट म्यानेजमेन्ट भनेर कम्पनी ऐन अन्तर्गत दर्ता गराएका छौं। सामाजिक इभेन्ट म्यानेजमेन्टलाई इभेन्टभित्र नै लिइरहेका छन्। कतिले इभेन्ट कम्पनी भनेर दर्ता गराएका छन्।

इभेन्ट म्यानेजमेन्ट गर्दा मानिसबाट कस्तो प्रतिक्रिया आउने गरेका छन् ?

यसलाई राम्रो काम भनेर आफैंले आफैंलाई उत्साहित गर्नुपर्ने हुन्छ। बिहे भोजमा सबैलाई चित्त बुझाउन त गाह्रो हुन्छ। सबैलाई चित्त बुझाउन सक्दैन। एउटा सिकाई प्रक्रिया हो। बिहेमा पनि घर फर्किन हामीले गाडीको सुविधा पनि उपलब्ध गराएका छौं। कतिले रक्सी खुवाउन गाडीको समेत व्यवस्था गर्यो भनेर टीकाटिप्पणी गर्ने गर्दछ। विषयलाई कसरी हेर्ने भन्ने मुख्य कुरो हो। तपाईहरूले सबै काम गरेर विवाहमा हामीले केही गर्न पाएन भनेर प्रतिक्रिया पनि आउने गरेको छ।

LEAVE A REPLY