एमाले स्थायी समिति बैठक तत्कालै निर्वाचन घोषणा गर



भक्तपुर, (नेस)
नेकपा एमालेले २०७४ मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार बसेको स्थायी समिति बैठकले त्यसका लगि आवश्यक कानुनी र राजनीतिक वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराएको एमाले सचिव तथा पार्टी प्रवक्ता योगेश भट्टराईले बताउनुभयो।
एमालेले मुलुकमा जारी गतिरोध अन्त्य गर्न मधेसी मोर्चासँग प्रभावकारी र उपयोगी ढंगले संवाद अघि बढाउने निर्णयसमेत गरेको छ। उहाँले मधेसी मोर्चासँग पार्टीका तर्फबाट एमालेका विभिन्न नेताहरूले पछिल्लो समयमा भइरहेको छलफल र वार्तालाई प्रभावकारी एवम् उपयोगी ढंगले अगाडि बढाउने बताउनुभयो।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिकृया दिनुहुँदै एमाले सचिव तथा पार्टी प्रवक्ता भट्टराईले बैठकमा एमालेले संविधान कार्यान्वयनमा सहमति जुटाउन र निर्वाचनको वातावरण बनाउनका लागि सबै दललाई सँगै लिएर जानका लागि मधेसी मोर्चा, सरकार र अन्य राजनीतिक दल सबैसँग छलफल र संवाद अघि बढाउने निर्णय गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘बैठकमा संविधान कार्यान्वयन र निर्वाचनका लागि एमालेले अधिकतम कोसिस गर्ने र यसका लागि दलहरूसँग छलफल गर्ने निर्णय भएको छ।’

उहाँले बैठकमा स्थायी समितीका सदस्यहरूबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधान कार्यान्वयन र निर्वाचनबारे दलहरूबीच भएका छलफल बारे विचारविमर्श भएको बताउनुभयो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीरताका साथ छलफल भएको बताउनुहुँदै भट्टराईले संविधानको मर्मअनुरूप तोकिएको अवधिमा तीनै तहको निर्वाचन हुनुपर्ने अडानलाई बैठकले थप पुष्टि गरेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘आगामी वैशाख जेठमा स्थानीय निर्वाचन र मंसिरमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन हुनुपर्छ भन्ने एमालेको धारणा रहेको छ, यसका लागि वार्ता र संवादका माध्यमबाट वातावरण तयार पार्न एमालेले प्रभावकारी र उपयोगी ढंगले संवाद अघि बढाउँछ।’

बैठकले यहीं फागुन २१ गतेदेखि आयोजना गर्न लागिएको मेची–महाकाली राष्ट्रिय अभियानको कार्यक्रम अनुमोदन गरेको बताउनुहुँदै उहाँले उक्त कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको बताउनुभयो।

अभियान सफल पार्न बैठकले पार्टीका कार्यकर्ता, मातहत कमिटी, जनसंगठनहरू र आमसमुदायलाई हार्दिक अपिल गरेको छ। एमालेले मेची महाकाली राष्ट्रिय जनअभियानलाई अनुमोदन गर्दै सशक्त पार्ने निर्णय गरेको छ। मेची महाकाली अभियानमा पार्टीले गर्ने आमसभा, र्याली, पार्टी प्रवेश, ज्येष्ठ नागरिक सम्मानजस्ता कार्यक्रमलाई बैठकले अनुमोदन गरेको छ।

बैठकले पोलिटब्युरो बैठकका लागि अध्यक्षको प्रतिवेदन, समसामयिक राजनीतिक परिस्थिति, मेची–महाकाली अभियान, पार्टीको आन्तरिक अवस्था, निर्वाचनलगायतका एजेन्डाहरू तय गरेको छ। एमाले पोलिटब्युरोको बैठक बुधबार र बिहीबार २ दिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ।
आगामी फागुन १४ गते क्याम्पसहरूमा गर्न लागिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध पुर्याउन भएका तालाबन्दीहरूप्रति बैठकको गम्भीर ध्यान गएको भट्टराईले बताउनुभयो।

मुलुकमा कुनै पनि खालका निर्वाचन हुन नदिने षड्यन्त्रस्वरूप यस्ता क्रियाकलापहरू भएको ठहर गर्दै पार्टीले ती निर्वाचनहरूका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नसमेत ध्यानाकर्षण गराएको छ।
उहाँले भन्नुभयो– ‘स्ववियु निर्वाचनलाई लिएर अहिले विभिन्न किसिमका आगजनी, तालाबन्दी गर्ने खालका अराजक गतिविधि भएका छन्, त्यसलाई पार्टीले गम्भिर रूपमा लिएको छ, सरकार तथा सम्बन्धित पक्षलाई समय मै स्ववियु निर्वाचन गर्न बैठकले ध्यानाकर्षण गरेको छ।’

दिउँसो २ बजेदेखि साँढे दुई घण्टा चलेको बैठकमा अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीलगायत अधिकांश स्थायी कमिटीका नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्