सरकारी जमिन आफ्नो नाममा बनाउने पक्राउ



सञ्जय कार्की गौर, रौतहट
पाल सरकारलाई ठगी गरेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फतुवा हर्षाहा गाविसका पूर्व अध्यक्ष सुरेन्द्र यादव र उनका भाइ नवलकिशोर यादव रहेका छन्।

सरकारले हदबन्दी कायम गरेको जयन्तकृष्ण मैत्रको नामको लक्ष्मिनिया दोस्तिया गाविस–२ स्थित विजयपुरमा रहेको झण्डै चार बिगाहा जमिन किर्ते कागज तयार गरी आफ्नो नाममा दर्ता गरेको पाइएपछि प्रहरीले ती दुवैलाई कटहरिया गाविसबाट पक्राउ गरेको हो।

लक्ष्मिनिया दोस्तिया–२ स्थित बिजयपुरको किता नम्बर १०८ र २४६ को २ विघा ९ कट्ठा १३ धुर जग्गा फतुवा हर्षाहा–६ का सुरेन्द्र राय यादवको नाममा पास गरिएको खुलेको थियो। नवलकिशोर यादवले जिल्ला अदालत काठमाडौंबाट उक्त स्थानको झण्डै चार बिगाहा जमिनको आफ्नो नाममा वारिस बनाएर दर्ता प्रक्रियामा लगेका थिए। जयन्तकृष्ण मैत्रको नाममा उनीहरूको नक्कली नागरिकता प्रमाणपत्र बनाएको समेत खुलेको थियो।

जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको १६०३०३३१४ नम्बरको जयन्तकृष्ण मैत्रको नामको नक्कली नागरिकता प्रमाणपत्रको अभिलेखमा दुर्गाकुमारी ठकुरीको रहेको पाइएपछि उनीहरूले सबै काम किर्ते पर्चा खडा गरेर आफ्नो नाममा जग्गा दर्ता गरेको आरोप रहेको छ।

प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले नेपाल सरकारलाई ठगी गरेको आरोपमा फतुवा हर्षाहा गाविसका सुरेन्द्र यादव र नवलकिशोर यादवलाई पक्राउ गरिएको बताउनुभयो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो। ०२५ सालमा सरकारले हदबन्दी कायम गरेपछि सो स्थानमा रहेको जयन्तकृष्ण मैत्रको जमिन २८ बिगाहा कायम गर्दै सरकारले राष्ट्रियकरण गरेको थियो तर बढी जमिनको लगत कट्टा नगरेका कारण भूमाफियाले किर्ते कागज तयार गरेर आफ्नो नाममा बनाएको समाचार सार्वजनिक भएपछि मालपोत कार्यालयले खारेज गरिदिएको थियो।

उनीहरूले आफ्नो नाममा दर्ता गरेको हदबन्दीको जमिनमा ८७ घरधुरीलाई तत्कालीन जिल्ला प्रशासन र जिल्ला पञ्चायतले निर्णय गरी ०३६ सालमा लालबकैया नदीको कटानले विस्थापित भएका फतुवा हर्षाहा गाविसका पीडित लाई स्थान्तरण गरेर बस्ती बसाएको थियो। उनीहरूलाई सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा र कित्ताकाट गरी ०५५ साल पौष १८ गते लालपुर्जासमेत वितरण गरे पनि स्रेस्ता भने कायम गरेको देखिँदैन।

०२८ मंसिर १२ गते भूमि प्रशासन कार्यालय रौतहटले बाराको कलैयामा रहेको भूमि प्रशासन कार्यालयलाई पठाएको ७ नम्बर फाँटबारीमा जयन्तकृष्ण मैत्रको १ सय ७१ बिगाहा ११ कट्ठा १९ धुर जमिन रहेको उल्लेख रहे पनि अहिलेको श्रेस्तामा भने उनको जमिन कम देखिन गएको छ। यस्को छानबिन हुनुपर्ने मागसमेत बढेको छ। ०३५ चैत्र ९ गते जिल्ला भूमि प्रशासन कार्यालयमा मैत्रको नाममा २८ बिगाहा जमिन कायम हुने गरी बाँकी जमिन हदबन्दी कायम गरे पनि राष्ट्रियकरण हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्