‘निर्वाचनको मिति घोषणा नगरे सरकार परिवर्तन’



हेमन्त पौडेल, धनगढी
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा नगरे सरकार परिवर्तन हुने बताउनुभएको छ। चैत वैशाखमा सरकारले निर्वाचन नगराएमा सरकारको नेतृत्व फेरिने उहाँले बताउनुभएको छ।

प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वउपसभापति श्रेष्ठले सो विचार व्यक्त गर्नुभएको हो। उहाँले एमाओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको भद्र सहमतिअनुसार ९ महिना एमाओवदी केन्द्र र ९ महिना नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने भद्र सहमतिअनुसार चैत वैशाखमा सरकारको नेतृत्व परिवर्तन हुनेमा कुनै विवाद नरहेको उहाँले स्पष्ट पार्नुभयो।

सरकारले तत्काल निर्वाचन मिति चैत वैशाखमा गर्ने गरेर घोषणा गरेमा निर्वाचनका कारण केही दिन ढिला हुन सक्ने भएपनि त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने श्रेष्ठले बताउनुभयो। चुनाव भए पनि नभए पनि आगामी वर्षको बजेट नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याउने उहाँले जानकारी दिनुभयो। अब विगतमा जस्तो पुरानो ढर्राको नभइ नयाँ र प्रगतिशील बजेट ल्याउनुपर्ने भएकाले अहिलेदेखिनै उत्कृष्ट बजेट तयार गर्ने काममा नेपाली कांग्रेस लग्नुपर्ने बेला भएको नेता श्रेष्ठले बताउनुभयो।
भद्र सहमतिलाई एमओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यान्वयन गर्ने आफूलाई पूर्ण विश्वास रहेको बताउँदै नेता श्रेष्ठले तत्काल स्थानीय निर्वाचनका लागि मिति घोषणा गर्न ढिलाइ गर्न नहुने बताउनुभयो। संविधान संशोधन र निर्वाचन मिति तोक्ने कामसंगै गर्नुपर्ने धारणा राख्नुभयो। संविधान परिवर्तशील दस्तावेज भएकाले समयअनुसार परिमार्जन गर्दै जान सकिने भएकाले यसको प्रक्रिया पनि अघि बढाउने र निर्वाचनको मिति पनि घोषणा गरेर जानुपर्ने सुझाव नेता श्रेष्ठको छ। स्थानीय निर्वाचन नभएको लामो समय भएकाले स्थानीय जनताले विकासको काम चाहेअनुसार नभएको र कर्मचारीले मात्र स्थानीय निकाय चलाउँदा जनताले चाहेअनुसारको काम नभएकाले तत्काल स्थानीय निर्वाचन गराउनुपर्नेमा जोडदिनुभयो।

माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भएकाले निर्वाच गर्न ढिला गर्न नहुने उहाँको तर्क छ। अहिले संक्रमणकालीन अवस्था रहेकाले स्थानीय तह नभई स्थानीय निकायको काम गर्नुपर्ने धारणा नेता श्रेष्ठको छ। स्थानीय तहप्रति मधेशवादी सहमत नभएकाले निकायकै निर्वाचन गरेर भएपनि अघि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। सबै मिलेर संविधान कार्यान्वयन र संरक्षण गर्नुपर्ने बताउँदै कांग्रेस नेता श्रेष्ठले सोमबार दलहरूलाई बोलाएर निर्वाचनमा जान राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह सकारात्मक रहेको बताउनुभयो। राष्ट्रपतिले सबै दलहरूलाई बोलाएर संविधान कार्यान्वयनको बाटोमा अघि बढ्न गरेको आग्रह स्वागतयोग्य रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्