माध्यमिक शिक्षा परीक्षा नतिजा सुधारका लागि स्वयम्सेवक शिक्षक



रोल्पा, ३ फागुन । अघिल्लो वर्षको प्रवेशिका परीक्षामा कमजोर नतिजा देखिएका ११ माविमा नतिजा सुधारका लागि यस वर्ष स्वयम्सेवक शिक्षक परिचालन गरिने भएको छ ।

जिल्ला शिक्षा समितिको हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो । कमजोर नतिजा ल्याउने विद्यालयमध्ये अधिकांशका अङ्ग्रेजी, गणित र विज्ञान विषय कमजोर देखिएकाले अब हुने माध्यमिक शिक्षा परीक्षा(एसइइ)मा ती विषयको नतिजा सुधारका लागि यस्तो निर्णय गरिएको जिल्ला शिक्षा समितिले बताएको छ ।

स्वयम्सेवाका रुपमा अध्यापन गर्न चाहने योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरी इच्छुक व्यक्तिलाई परिचालन गर्ने गरी तयारी गरिएको बताइएको छ । स्वयम्सेवक शिक्षकका रुपमा मानवीय तथा आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई पनि सहयोग आह्वान गरिएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।

एसइइ परीक्षालाई लक्ष्य गरी स्वयम्सेवक शिक्षक एक महिनाका लागि परिचालन हुने बताइएको छ । उनीहरुको लगानीले जिल्लाको नतिजा सुधार भएमा आगामी वर्षमा पनि निरन्तरता दिन सकिने पौडेलले बताउनुभयो । जिल्लाका ७२ सामुदायिक माविमा अध्ययनअध्यापन गर्ने ११६ शिक्षक र सात हजार ५०० विद्यार्थी रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्