मकवानपुरलाई लोडसेडिङमुक्त बनाउन हस्ताक्षर संकलन



हेटौंडा, (नेस)
देशमा सबभन्दा धेरै जलविद्युत् आयोजना भएको मकवानपुरलाई लोडसेडिङमुक्त बनाउन युवा संघ नेपाल मकवानपुरले जन दबाबस्वरूप हस्ताक्षर संकलन शुरू गरेको छ।

मकवानपुर जिल्लामा रहेको कुलेखानीबाट उत्पादन भएको विद्युत्बाट विभिन्न जिल्ला लोडसेडिङमुक्त भइसकेको अवस्थामा मकवानपुर लोडसेडिङमुक्त हुन अत्यावश्यक रहेको भन्दै युवा संघले हस्ताक्षर संकलन अभियान शुरू गरेको हो।
युवा संघ नेपाल मकवानपुर अध्यक्ष सन्तोष चौलागाईंले मकवानपुरलाई लोडसेडिङमुक्त बनाउन सबै मकवानपुरबासी आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो। मकवानपुरलाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्न सबै राजनीतिक दलले पहल गर्नुपर्ने उनले बताउनुभयो।

युवा संघ नेपाल मकवानपुरले थालेको अभियानमा सोमबार दश हजार हस्ताक्षर संकलन भइसकेको अध्यक्ष चौलागाईंले बताउनुभयो। ‘जिल्लालाई लोडसेडिङमुक्त बनाउनु मकवानपुरवासीको चुनौती हो,’ चौलागाईंले भन्नुभयो। मकवानपुरलाई लोडसेडिङमुक्त घोषणा गराउन युवा संघले ‘जे पनि गर्न सक्ने’ चौलागाईंले चेतावनी दिभयो।

कुलेखानी पहिलो र दोस्रो जलविद्युत् आयोजना रहेको तथा तेस्रो निर्माणाधीन रहनुका साथै डिजेल प्लान्टसमेत यहीं सञ्चालनमा रहेका कारण जिल्लालाई लोडसेडिङमुक्त बनाउन माग गरिएको हो।

निर्माणाधीन कुलेखानी–३ जलविद्युत् आयोजना सम्पन्न भएपछि जिल्लालाई लोडसेडिङमुक्त घोषणा गर्ने सहमति राप्रपानिकट युवक संगठनसँग जिल्ला प्रशासन कार्यालयमा दुई वर्षअघि भएको वार्ताले गरेको थियो। मकवानपुरलाई लोडसेडिङमुक्त गर्न २० मेगावाट विद्युत् भए पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्