निमित्त आईजीपीमा पोखरेल



काठमाडौं, (नेस)
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली नै संशोधन गरेर एआईजी पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको हो। सरकारले आइतबार डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गरेको भए पनि सर्वोच्च अदालतले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि निमित्तको चयन गर्नुपरेको हो।

मन्त्रिपरिषद्ले डा. पोखरेललाई निमित्त दिएपछि सोमबार साँझै डा. पोखरेलले कार्यभार सम्हाल्नुभएको थियो। तीस बर्से सेवा अवधि पूरा गरी अनिर्वाय अवकाश पाउनुभएका उपेन्द्रकान्त अर्याल कार्यभार नै हस्तान्तरण नगरी प्रहरी प्रधान कार्यालयबाट बाहिरिनुभएको थियो।

नेपाल प्रहरीमा कार्यभार हस्तान्तरण नगरी अवकाश लिने आईजीपीमा अर्याल पर्नुभएको छ। यसअघि नयाँ आउने आईजीपीलाई घर जाने आईजीपीले कार्यभार हस्तान्तरण गर्ने प्रचल रहेको थियो।

प्रतिक्रिया दिनुहोस्