मन जित्दै जनस्वास्थ्य केन्द्र



विपना मुसिख्वाल, भक्तपुर
भक्तपुर वागेश्वरीका ६७ वर्षीय अक्कलबहादुर भुजेल सामान्य बिरामी हुनेबित्तिकै उपचारका लागि च्याम्हासिंहको जनस्वास्थ्य केन्द्रमा पुग्नुहुन्छ। सस्तो र सहजरूपमा गुणस्तरीय उपचार भएकाले गर्दा पहिलेदेखि नै यहाँ आउने गरेको उहाँ बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘यहाँ उपचार गर्न सकिने रोगका लागि यही नै आउँछु। यहाँ उपचार नहुने रोगका लागि भने भक्तपुर अस्पताल र अरू ठूला अस्पतालमा जान्छु।’ उहाँ मात्र होइन उहाँजस्तै सयौं बिरामी दैनिकरूपमा साधारणदेखि जटिल समस्या बोकेर यहाँ आउने गर्छन्।

ताथलीका रेणुका पण्डित भन्नुहुन्छ– ‘म यहाँ मेरो छोरीको घाउको डे«सिङ गर्नका लागि आएको हुँ। सामान्य गोडा दुख्यो भन्दाभन्दै घाउ ठूलो भयो। उपचारका लागि २४ दिनसम्म शिक्षण अस्पतालमा लगें। अहिले नजिकै भएर यहाँ ल्याएको छु।’ पहिलोपटक जनस्वास्थ्य केन्द्रमा पुग्नुभएका उहाँ भन्नुहुन्छ– ‘अरू अस्पतालको तुलनामा सफा र शान्त रहेछ। डाक्टर तथा उपचार गर्ने तरिका पनि राम्रै छ। सेवा अरू ठूला अस्पतालको तुलनामा राम्रो छ। सानो स्वास्थ्य केन्द्रको रूपमा रहेको जनस्वास्थ्य केन्द्रमा दैनिक २ सयदेखि ३ सय बिरामी आउने गरेको जनस्वास्थ्य केन्द्रले जनाएको छ।

‘यहाँ दैनिकरूपमा ज्वरो, रुघाखोकी दम, झाडापखालालगायत विभिन्न समस्या लिएर बिरामी आउने गर्छन्। तर, पनि यहाँ हप्ताको केही दिनमा विभिन्न अस्पतालको विशेषज्ञ डाक्टरहरूलाई झिकी ठूल्ठूला रोगको पनि उपचार गरिन्छ’, जनस्वास्थ्य केन्द्रका सञ्चालक पे्रम सुवाल भन्नुहुन्छ– ‘यो केन्द्र २०३० सालमा भक्तपुरका सर्वसाधारण र कृषकवर्गको सेवा तथा सुविधाका लागि भक्तपुरको दरबार स्क्वायर अगाडि सञ्चालन गरिएको हो। त्यहाँबाट कमलविनायकमा सारियो र त्यहाँ पनि ठाउँ सानो भएर सेवा सुविधा बढाउनका लागि च्याम्हासिंहमा सारेको हो।’

उहाँले यस जनस्वास्थ्य केन्द्रलाई अस्पताल बनाई अझ बढी सेवा सुविधा दिने र भर्ना लिने व्यवस्था सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो। जनस्वास्थ्य केन्द्रमा हाल ६ वटा मात्र वेड छन्।

स्वास्थ्य मन्त्रालयबाट केही समयभित्रमा १५ वटा बेड उपलब्ध हुने जानकारी दिँदै केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिव भन्नुहुन्छ– ‘यहाँ वार्षिकरूपमा ६ करोड खर्च हुन्छ। जुन हामी बिरामीसँग र नगरपालिकाको सहयोगबाट जुटाउँछौं। दैनिक बिहान र बेलुका बिरामीको उपचार गर्छौं। आकस्मिक सेवा भने २४सै घन्टा सञ्चालन हुन्छ।’

लासिवले केन्द्रमा बालरोग, स्त्रीरोग, हाडजोर्नी, मानसिक उपचार, आकस्मिक सेवा, दन्त रोगलगायतका विभिन्न सेवा दिँदै आएको जानकारी गराउनुभयो। उहाँले केन्द्रमा सरकारले कुनै सहयोग नगरेको र सहयोगका लागि पहल गर्दै आएको पनि बताउनुभयो। यति धेरै सेवा भए तापनि अस्पतालको रूपमा किन विकास नभएको भनी प्रश्न सोद्धा उहाँ भन्नुहुन्छ– ‘पहल त गरेको हो तर भवनको मापदण्ड पुगेको छैन भनी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको छैन।’

केन्द्रमा उपचारका लागि आउनुभएका ६० वर्षीय ठूली लामिछाने भन्नुहुन्छ– ‘घरबाट नजिक छ। सामान्य औषधी सित्तैमा पाउँछौं। कम पैसामा पनि राम्रो उपचार पाइन्छ। केन्द्रमा भक्तपुरको नगर क्षेत्र, ताथली, वागेश्वरी, जितपुरलगायतका आसपासको बिरामी आउने गर्छन्।
(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्