‘अनागारिका संघशीला र सिर्जना’ सार्वजनिक



नेपाल समाचारपत्र
काठमाडौं
दीपक भेटुवाल (दीपसागर) द्वारा लिखित ‘अनागारिका संघशीला र सिर्जना’ नामक पुस्तकको आज राजधानीमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ। संघशीला गुरुमाँको ७०औं जन्मोत्सवका अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सो पुस्तकको विमोचन गर्नुभएको हो।

प्रमुख अतिथि उद्योगमन्त्री जोशीले मान्छे भएर जन्मिन गाह्रो र जन्मिसकेपछि जिउन गाह्रो भएको बताउनुभयो। जीवनलाई संघर्षशील बनाउनुपर्ने उद्योगमन्त्री जोशीको भनाइ थियो। पुस्तकमा आदर्श महिला, पत्नी र आमाको भूमिका तथा जीवनका बारेमा चर्चा गरिएको छ। सूचक प्रकाशनका सल्लाहकार तेवीन्द्ररत्न शाक्यको अध्यक्षता एवं उद्योगमन्त्री जोशीको प्रमुख आतिथ्यतामा कृतिको विमोचन गरिएको हो।

कार्यक्रममा सहभागीहरूले कृतिले महिलाहरूमा चेतना र आत्मविश्वास पैदा गर्न अग्रणी भूमिका निर्वाह गर्ने बताए। पुस्तकमा १९ वटा विषयसूची आबद्ध छन्। अनागारिका संघशीलाको वास्तविक नाम तेजलक्ष्मी शाक्य रहेको र शाक्यले चितवनको जुगेडीमा रहेको इच्छा बुद्ध विहार निर्माणमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख छ। सो अवसरमा स्वयम्भु ज्ञानमाला भजन परिवारले भजन तथा कीर्तन प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्