तीन कक्षामा पढ्नेको टीकाटालो



कुमार श्रेष्ठ, बाँके
बाँके इन्द्रपुरका लौकुस कुचबधिया तीन कक्षामा पढ्छन्। ६ महिनाअघि उनको विवाहका लागि मग्नी (टीकाटालो) भइसकेको छ। उनका दाजु मुछन्दर कुचबधिया पाँच कक्षामा पढ्छन्। उनको पनि मग्नीको तयारी भएको छ।

लापोन्मुख कुचबधिया जातीमा सानै मग्नी हुने चलन छ। लौकुस र मुछन्दरकी आमा मुनिया कुचबधियाले आफ्नो नन्दाका दुई छोरीसँग छोराहरूको मग्नी भएको बताउनुभयो। ‘भाइको पहिला भयो, दाजुको अब हुँदै छ, तयारी भइसकेको छ’, मुनियाले भन्नुभयो– ‘दुई छोरीको मग्नी पनि नन्दाकै छोराहरूसँग भएको छ।’

कुचबधियामा रक्सीसहितको सामान्य भोजभतेरमा मग्नी हुने गर्दछ। स्थानीय युवा लक्ष्मण कुचबधिया भन्नुहुन्छ– ‘हाम्रो समुदायमा एक बोत्तल रक्सी राखेर रिस्ता पक्का हुन्छ।’ स्मति कुचबधियाका बालक छोराको पनि मग्नी भइसकेको छ। दुई छोराको मग्नी भाइको छोरीसँग भएको छ। ‘सानैमा मग्नी हुने र उमेरपछि विवाह हुने हाम्रो परम्परा हो’, स्मतिले भन्नुभयो– ‘धेरै बच्चा जन्माउने र सानैमा टीकाटालो गर्ने परम्परामा अलि सुधार आइरहेको छ।’ स्मतिका चार छोरा र तीन छोरी छन्।

सावित्री कुचबधियाको पाँच छोरी र एक छोरा छन्। ‘छोराको चक्करमा पाँच छोरी भए’, सावित्रीले भन्नुभयो– ‘अन्तिममा छोरा भएपछि सन्तान जन्माउन छोड्यौं।’ मौली कुचबधियाका तीन छोरा र चार छोरी छन्। मौलीले सबै बच्चा घरमै जन्माउनुभएको हो।

सरकारले प्रति टाउको (सदस्य) मासिक १ हजार रुपियाँ भत्ता दिने गरेपछि कुचबधियामा सन्तानको मोह बढी देखिन्छ। सात सन्तानका पिता कैलाश कुचबधिया भन्नुहुन्छ– ‘सरकारले ९ हजार रुपियाँ मासिक दिन्छ। त्यसले खानपान, लत्ताकपडा किन्छौं।’

सिलौटा बेचेर गुजारा चलाउने कुचबधियालाई सरकारले शहरका राउटे मानिन्छ। सरकारले प्रतिव्यक्ति हजार रुपियाँ मासिक भत्ता दिने गर्दछ। छोराछोरीलाई खासै नपढाउने यी समुदायमा सानै विवाह गरिदिने चलन रहेको छ। कतिपय बुझेका व्यक्तिले भने सानैमा विवाह गर्दा कारबाही हुन्छ थाहा पाएर मग्नी, विवाह भए पनि नभएको बताउँछन्। अझ केहीले त बच्चा कति छन् भनेर सोध्दा घटाएर भन्ने गरेका छन््। रेखवा कुचबधियाले दुई छोरा मात्रै रहेको बताइरहँदा छिमेकीले दुई छोरी पनि रहेको पोल खोलेका थिए। ‘सरकारले दिने भत्ताका लागि धेरै सन्तान जन्माउँछन् भन्ने छाप’ परेकाले उनीहरूले सकेसम्म बालबालिका थोरै नै देखाउने गरेका छन्।

बाँकेको इन्द्रपुर, फुल्टेक्रालगायत ठाउँमा कुचबधियाका ३ सय ३७ घर रहेका छन्। पाँच⁄सात वर्षकै उमेरमा छोराछोरीको मग्नी गर्ने र अलि उमेरपछि विवाह गरेर घरमा पठाउने उनीहरूको परम्परा नै रहेको छ। स्थानीय युवा लक्ष्मणले मग्नीपछि विवाह, गौना, थौना र त्यसपछि आलाचाला गरेर केटीलाई केटाको घरमा पठाउने गरिन्छ। यी प्रक्रिया केही महिनाका फरकमा गरिन्छ। मग्नी गरिसकेपछि केटा र केटीले अर्कै रोजेमा खर्च व्यहोर्ने परम्परा रहेको छ। मुनियाका अनुसार, बटला, खसरालगायत सामान दिएर भोजभतेरका साथ मग्नी हुन्छ। यदि केटी अर्कैसँग गई भने त्यसको खर्च व्यहोर्नुपर्छ।
सरकारले केटाको उमेर २२ र केटीको उमेर २० वर्ष भएपछि मात्रै आफूखुसी विवाह गर्न पाउने र घरपरिवारको सल्लाहमा २० र १८ वर्षमा विवाह हुने बताएपनि कुचबधियालगायत समुदायमा अहिले पनि बालबालिका प्रचलनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्