१५ जिल्लाको पोलियो कार्यक्रम अन्योलमा



राजविराज, (नेस)
दुई महिनादेखि कार्यालय प्रमुखका लागि हेल्थ अस्टिेन्ट र सिनियर अहेवबीच विवाद लम्बिएका कारण १५ जिल्लामा एक हप्तापछि सञ्चालन हुने भनिएको पोलियो थोपा खुवाउने कार्यक्रम अन्योलमा परेको छ।

फागुन ७ र ८ गते उपत्यकाका तीनसहित सुनसरी, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली गरी १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रम तय भएको थियो।

सप्तरीमा मात्र जन्मदेखि ५ वर्षसम्मका १ लाख २१ हजार ७ सय ५८ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेकोमा स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभिन्न प्राविधिक कारण दर्साउँदै अर्को आदेश नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका सूचना अधिकारी छेदीप्रसाद यादवले जानकारी दिएका छन्।

हेल्थ असिस्टेन्ट र सिनियर अहेव दुवैले आफू कार्यालयको इन्चार्ज हुनुपर्ने दाबी लम्बिँदै गएपछि कार्यालय सञ्चालनमा अप्ठ्यारो भइरहेको थियो। सूचना अधिकारी यादवले यही कारणले परिवार नियोजन क्याम्पबाहेक तालिम, गोष्ठी, रिपोर्टिङलगायतका कामसमेत रोकिन पुगेको बताएका छन्। हाललाई कार्यक्रम स्थगित गरिए पनि योजना तर्जुमा गोष्ठी भने गरिने उनले बताए।

उता बालबालिकाका अभिभावकले भने इन्चार्ज बन्ने होडबाजीमा पोलियो थोपा खुवाउने कार्यक्रमलाई स्थगित गरिनु बालबालिकाको स्वास्थ्यमाथिको खेलवाड भनी आलोचना गरेका छन्। उनीहरूले वातावरण सहज बनाई समयमै पोलियो थोपा खुवाउने कार्यलाई प्राथमिकता दिनसमेत माग गरेका छन्।

राजविराज–५ की मालती चौधरी भन्छिन्– ‘कुनै पनि विवादमा पोलियो थोपा खुवाउने जस्तो कार्यक्रमलाई अन्योलमा राख्नु दुर्भाग्य नै हो, यस्तो संवेदनशील विषयप्रति सरकारको ध्यानाकर्षण जरुरी छ।’ यस्तै पोलियो स्वयम्सेविका आरती चौधरीले बालबालिकालाई समयमै पोलियो थोपा खुवाई बालअधिकारको सम्मान गर्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्