भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण



नेपाल समाचारपत्र
रसुवा
रसुवाको माथिल्लो भागको दुईवटा गाविसमा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण गरिएको छ। जिल्लास्थित स्याफ्रु गाविसको ठूलोस्याफ्रु, ब्राबल र सानोभार्खु तथा धुन्चेको घट्टखोला, सोले र नागुङ क्षेत्रमा करिब २१ लाखको लागतमा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण गरिएको हो। भूकम्पका कारण भत्किएका परम्परागत घट्टलाई सुधार गर्नुका साथै भवन भूकम्प प्रतिरोधीसमेत बनाइएको छ।

भूकम्प जानुभन्दा अघि सानो भार्खुमा सञ्चालित पानीघट्टमा दैनिक दुई मुरीसम्म पिठो पिस्ने गरेकोमा सुधारिएका पानीघट्टबाट थोरै समयमा धेरै पिस्न सकिने भार्खु सरसफाइ उपभोक्ता समितिका अध्यक्ष थारचेन तामाङले बताउनुभयो।

जिल्लाको माथिल्लो भागको १० वटा गाविसमा हालसम्म पनि विद्युतीय मिल स्थापना नहुँदा कुटानी पिसानीका लागि पानीघट्ट नै सञ्चालनमा रहेको छ। आईएमसी र यूएनडीपीको आर्थिक सहयोगमा स्थानीय गैरसरकारी संस्था मानेकोर सोसाइटी नेपालले स्थानीय उपभोक्ता समितिमार्फत् भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्