तीन कक्षामा पढ्दै गर्दा बिहे

कुमार श्रेष्ठ, बाँके ।

बाँके इन्द्रपुरका लौकुस कुचबधिया तीन कक्षामा पढ्छन् । ८ वर्षीय लौकुसको ६ महिनाअघि विवाहका लागि मग्नी (टीकाटालो) भइसकेको छ । उनका दाजु मुछन्दर कुचबधिया पाँच कक्षामा पढ्छन् । उनको पनि मग्नीको तयारी हुँदैछ ।

लापोन्मुख कुचबधिया जातीमा सानै मग्नी हुने चलन छ । लौकुस र मुछन्दरकी आमा मुनिया कुचबधियाले आफ्नो नन्दाका दुई छोरीसँग छोराहरुको मग्नी भएको बताउनुभयो । ‘भाइको पहिला भयो, दाजुको अब हुँदैछ, तयारी भइसकेको छ, मुनियाले भन्नुभयो, दुई छोरीको मग्नी पनि नन्दाकै छोराहरुसँग भएको छ ।’

कुचबधियामा रक्सीसहितको सामान्य भोजभतेरमा मग्नी हुने गर्दछ । स्थानीय युवा लक्ष्मण कुचबधिया भन्नुहुन्छ, हाम्रो समुदायमा एक बोत्तल रक्सी राखेर रिस्ता पक्का हुन्छ ।’

स्मति कुचबधियाका बालक छोराको पनि मग्नी भइसकेको छ । दुई छोराको मग्नी भाईको छोरीसँग भएको छ । ‘सानैमा मग्नी हुने र उमेरपछि विवाह हुने हाम्रो परम्परा हो, स्मतिले भन्नुभयो, धेरै बच्चा जन्माउने र सानैमा टीकाटालो गर्ने परम्परामा अलि सुधार आइरहेको छ ।’ स्मतिका चार छोरा र तीन छोरी छन् ।

सावित्री कुचबधियाको पाँच छोरी र एक छोरा छन् । ‘छोराको चक्करमा पाँच छोरी भए, सावित्रीले भन्नुभयो, अन्तिममा छोरा भएपछि सन्तान जन्माउन छोड्यौं ।’ मौली कुचबधियाका तीन छोरा र चार छोरी छन् । मौलीले सबै बच्चा घरमै जन्माउनु भएको हो ।

सरकारले प्रति टाउको (सदस्य) मासिक एक हजार रुपैया भत्ता दिने गरेपछि कुचबधियामा सन्तानको मोह बढी देखिन्छ । सात सन्तानका पिता कैलाश कुचबधिया भन्नुहुन्छ, सरकारले नौ हजार रुपैया मासिक दिन्छ । त्यसले खानपान, लत्ताकपडा किन्छौं ।’

सिलौटा बेचेर गुजारा चलाउने कुचबधियालाई सरकारले शहरका राउटे मानिन्छ । सरकारले प्रतिव्यक्ति हजार रुपैया मासिक भत्ता दिने गर्दछ । छोराछोरीलाई खासै नपढाउने यी समुदायमा सानै विवाह गरिदिने चलन रहेको छ । कतिपय बुझेका व्यक्तिले भने सानैमा विवाह गर्दा कारबाही हुन्छ थाहा पाएर मग्नी, विवाह भएपनि नभएको बताउँछन् ।

अझ केहीले त बच्चा कति छन् भनेर सोध्दा घटाएर भन्ने गरेका छन्् । रेखवा कुचबधियाले दुई छोरामात्रै रहेको बताइरहदा छिमेकीले दुई छोरी पनि रहेको पोल खोलेका थिए । ‘सरकारले दिने भत्ताका लागि धेरै सन्तान जन्माउँछन् भन्ने छाप’ परेकाले उनीहरुले सकेसम्म बालबालिका थोरै नै देखाउने गरेका छन् ।

बाँकेको इन्द्रपुर, फूल्टेक्रालगायत ठाउँमा कुचबधियाका ३ सय ३७ घर रहेका छन् । पाँच÷सात वर्षकै उमेरमा छोराछोरीको मग्नी गर्ने र अलि उमेरपछि विवाह गरेर घरमा पठाउने उनीहरुको परम्परा नै रहेको छ । स्थानीय युवा लक्ष्मणले मग्नीपछि विवाह, गौना, थौना र त्यसपछि आलाचाला गरेर केटीलाई केटाको घरमा पठाउने गरिन्छ ।

यी प्रक्रिया केही महिनाका फरकमा गरिन्छ । मग्नी गरिसकेपछि केटा र केटीले अर्कै रोजेमा खर्च व्यहोर्ने परम्परा रहेको छ । मुनियाका अनुसार, बटला, खसरालगायत सामान दिएर भोजभतेरका साथ मग्नी हुन्छ । यदि केटी अर्कैसँग गई भने त्यसको खर्च व्यहोर्नुपर्छ ।

सरकारले केटाको उमेर २२ र केटीको उमेर २० वर्ष भएपछि मात्रै आफूखुशी विवाह गर्न पाउने र घरपरिवारको सल्लाहमा २० र १८ वर्षमा विवाह हुने बताएपनि कुचबधियालगायत समुदायमा अहिले पनि बालबालिका प्रचलनमा रहेको छ ।

LEAVE A REPLY