ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्



रुकुम, २ फागुन । रुकुमको चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालु आव २०७३÷०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् ।

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभ्यास थालिएपछि दोस्रो किस्ता पाउने समयसम्म पनि लक्षित वर्गले गत साउनदेखिको भत्ता अहिलेसम्म पनि पाउन नसकेका हुन् । अघिल्लो वर्षतिर समयमै भत्ता पाउने गरेको भए पनि यो वर्ष भने समयमै भत्ता नपाएको चौरजहारी–७ का ७२ वर्षीय नरबहादुर खत्रीले बताउनुभयो ।

पटकपटक बैंकमा जाँदा पनि सुरक्षा भत्ता पाउन नसकेको लक्षित वर्गको गुनासो छ । एक महिनासम्म बैंकमा खाता खोल्ने समय लागेको र त्यसपछि मन्त्रालयमा इन्ट्री गर्नुपर्ने भएकाले भत्ता वितरणमा ढिलाइ भएको चौरजहारी नगरपालिकाका कार्यकारी अधिकृत महेशकुमार गुरुङले बताउनुभयो । अहिले नगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता पाउने एक हजार ६९ जना व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो ।

बैंकमा पैसा जम्मा भइसकेको र अब केही सामान्य कुरा मिलाएर छिट्टै प्रत्येकको खातामा पैसा जम्मा गरिने कार्यकारी अधिकृत गुरुङको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्