जुनियर स्कुल प्रिन्सेस २०१७ को खोजी



बहिनीहरूका लागि ‘छैटौं अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१७’ कार्यक्रम हुने भएको छ। विगत ६ वर्षदेखि वार्षिक बिदामा रहेका स्कुले बहिनीहरूका लागि यो प्रतियोगिता हुने गरेको छ।

आगामि फागुन तथा चैतमा वार्षिक परीक्षा दिएर बसेका काठमाडौं उपत्यकाका ७ देखि १३ वर्षका बहिनीहरूका लागि यो कार्यक्रम हुन लागेको हो। यो कार्यक्रममा भाग लिन चाहनेहरूका लागि फारम खुला गरिएको आयोजक संस्था सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए। चैतको दोस्रो सातासम्म यो प्रतियोगितामा सहभागी हुन चाहनेहरूले फारम भर्न सक्नेछन्। १९ चैतमा पहिलो चरणको छनोट गरिने भएको छ। २० चैतबाट प्रतियोगीहरूको प्रशिक्षण शुरु गरिने भएको छ। प्रशिक्षण हरेक दिन बिहान १० देखि बेलुका ४ बजेसम्म गरिने र प्रशिक्षणको अवधिमा सहभागीहरूलाई खाजा पनि खुवाइने भएको छ।

सिजन मिडियाले यो विगत ७ वर्षदेखि निरन्तररूपमा प्रतियोगिताको आयोजना गर्दै आएको हो। प्रतियोगितासँग यस पटक काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुलको विशेषरूपमा साथ रहेको आयोजक वन्तले जानकारी गराएका छन्। त्यस्तै गरी हामीलाई चन्द्रागिरी केवलकार, आमोदी ग्रुप यु एन्ड मिलगायत विभिन्न संस्थाहरूबाट पनि विषेश सहयोग रहेको छ।

१५ वैशाखमा अन्तिम प्रतिस्पर्धा गरेर जुनियर स्कुल प्रिन्सेससहित विभिन्न उपाधि प्रदान गरिनेछ। विजेताले क्राउनसहित साइकल, मोबाइल ट्याबका साथै अक्षरा स्कुलमा छात्रावृत्ति हासिल गर्नेछन् भने विभिन्न उपहार प्राप्त गर्नेछन्।

प्रशिक्षणको क्रममा बालिकाहरूलाई काठमाडौंको चन्द्रागिरी केबुलकार, गोदावरी पार्क, छाउनी संग्रहालय, काठमाडौं फनभ्याली, दरबार संग्रहालय, गोदावरी पार्क, चिडियाखाना पशुपति मन्दिर, बौद्ध स्तुप स्वयम्भु घुमाइनेछ। यस्तै नृत्य, गायन सिकाइनेछ। बालिकाहरूलाई वृद्धाश्रम, अपाङ्ग बाल सेवा केन्द्र, बागमती सरसफाइ जस्ता सामाजिक काममा पनि सहभागी गराइनेछ। हर्स राइडिङ तथा रक क्लाइमिङ साथै सिनेमा देखाइने, नाटक देखाइने जस्ता विभिन्न कार्यक्रम रहेको पनि प्रदीपराज वन्तले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्