दश लाख बढी बिरामीको शल्यक्रिया



नेपाल समाचापत्र
सिरहा
सगरमाथा चौधरी आँखा अस्पतालले १० लाखभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया गर्न सफल भएको जनाइएको छ।

शनिबार सिरहाको लहानस्थित रहेको आँखा अस्पतालको प्रांगणमा आयोजित ३४औं वार्षिकोत्सवको अवसरमा अस्पतालले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

स्थापनाको ३४ वर्षमा ४६ लाख २२ हजार १ सय ४१ बिरामीको जाँच गरेको छ भने १० लाख २ सय ९७ बिरामीको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जयकुमार सिंहले जानकारी दिनुभएको हो। अहिलेसम्मकै सर्वाधिक सन् २०१६ मा ३ लाख ३८ हजार ५ सय ४५ बिरामीको आँखा जाँच गरिएको थियो भने ५४ हजार ४ सय ४६ बिरामीको आँखा शल्यक्रिया गरिएको जनाइएको छ।

यस आँखा अस्पताको सेवा केन्द्रका रूपमा रहेका सप्तरीको राजविराज, सर्लाहीको मलंगवा, उदयपुरको गाईघाट र कटारी, खोटाङको दिक्तेल, सिरहाको मिर्चैया, महोत्तरीको जलेश्वरलगायतका केन्द्रहरूबाट सेवा उपलब्ध गराउँदै आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सिंहले बताउनुभयो।

यस अस्पतालमा ५० प्रतिशतभन्दा बढी भारतीय र बाँकी नेपाली बिरामीहरू आँखाको उपचार गराउन आउने गर्छन्। यस अस्पतालमा भारतका विहार, असाम, पश्चिम बंगाल, उत्तर प्रदेशसम्मको बिरामीहरू उपचार गराउन आउने गरेका छन्।

स्थानीय चौधरी परिवारहरू सरोबरलाल चौधरी, छविलाल चौधरी र रवीन्द्रलाल चौधरीले अस्पताल परिसरका लागि लहानमा साढे सात बिगाहा र आन्तरिक स्रोतका लागि सप्तरीको हर्दियामा साढे १५ बिगाहा जग्गा हस्तान्तरण गरेपछि २०४२ सालमा सगरमाथा चौधरी आँखा अस्पतालको नाममा उक्त अस्पतालले आफ्नो सेवा सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्