खोलाको पानी डाँडामा आयो स्थानीयबासीमा खुसीयाली



कविराज नेपाल, पाल्पा
कुनै बेला रातरातभर जाग्राम बसेर खानेपानी र अन्य प्रयोजनका लागि प्रयोग हुने पानीको जोहो गर्नुपर्ने पाल्पालीले केही वर्षयता निकै राहतको अनुभूति गर्न थालेका छन्।

पहाडी जिल्ला भएकाले डाँडामा बस्ती र पानीको मुहान तलतिर भएका पाल्पाका अधिकांश गाविसमा खानेपानीको जोहो गर्नु निकै बाध्यात्मक थियो। पानीका लागि समस्या भोगेकालाई लक्षित गरी जिल्लाका विभिन्न गाविसमा विद्युतीय मोटरको प्रयोग गरी पानी तान्ने र घरघरमै धारा वितरण हुन थालेपछि जनताले राहतको अनुभूति गर्न पाएका हुन्।

यस्तै उदाहरण हो पश्चिम पाल्पाको खस्यौली गाविसमा निर्माण भएका दुई लिफ्ट खानेपानी आयोजनाहरू। जुन आयोजना यस भेगका जनताका लागि वरदान सावित भएको छ।

लिफ्ट खानेपानी आयोजना निर्माण भएपछि खानेपानीका लागि घण्टौं लाइनमा बस्नुपर्ने भन्झटबाट जनतालाई मुक्ति त मिलेकै छ, खानेपानीकै कारण हुने झैंझगडाबाट कमी र अरू पिरलोबाट पनि मुक्ति दिलाएको छ।

यस गाविसको वडा नं २ हार्थाेक र वडा नं ४ माथिल्लो खस्यौलीमा बनेका यी लिफ्ट खानेपानी आयोजनाबाट स्थानीय बासिन्दाले निकै राहत र खुसीको अनुभूति गर्न पाएका छन्।

लिफ्ट खानेपानी आयोजनाको निर्माण पछि करिब २० वर्ष पहिलेदेखि सञ्चालनमा आएको रिब्दीकोट–भैरवस्थान–ख्याहा खानेपानी आयोजनामा निर्भर रहनुपरेको छैन। एक गाग्री पानीका लागि रातिराति उठेर जाग्राम बस्नुपर्ने समस्या पनि अब छैन। त्यस्तै लाइनमा बस्दा हुने झैंझगडा पनि नभएको स्थानीय उपभोक्ता बताउँछन्।
हार्थाेक लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष अमरबहादुर भाटका अनुसार यसअघि पानीका लागि निकै समस्या रहेकोमा आयोजनाको निर्माण पछि निकै सजिलो भएको छ। ‘२०५६ सालमा निर्माण भएको आयोजनाले गर्दा हार्थाेक बजारमा अहिले समस्या छैन’, अमात्यले भन्नुभयो– ‘नत्र भने धारामा गएर पानी ल्याउनुपथ्र्याे अब भने यस्तो कुनै समस्या भोग्नुपरेको छैन।’

हार्थाैक बजारबाट करिब २ सय मिटर तल रहेको परम्परादेखि उपयोगमा आइरहेको धारामा मोटर जडान गरी स्थानीयले पानी बजारमा ल्याएका हुन्। पानी तान्न मोटर प्रयोग गरेपछि जतिखेर चाह्यो त्यतिखेर पानी उपयोग गर्न पाइएको उपभोक्ता समितिका पवित्रकुमार थैवले बताउनुभयो।

त्यस्तै वडा नं ४ माथिल्लो खस्यौलीका जनता पनि स्थानीय रिपधाराको पानी घरघरमै पुर्याई उपयोग गर्न पाएकोमा मख्ख छन्। यहाँ त झन् पानीलाइै पिउनका लागि मात्र होइन सिँचाइका लागि पनि उपयोग गरिएको छ। ‘पानी बिजुलीले तान्दा केही महँगो त पर्छ तर यसको उपयोगले तरकारी पनि फलाउन पाइएको छ’, स्थानीय तुल्सीप्रसाद नेपालले भन्नुभयो– ‘तरकारी उत्पादनको तुलनामा त खर्च केही पनि होइन।’

त्यसो त पहाडी जिल्ला पाल्पामा यी बाहेक अन्य आयोजना पनि विद्युत् मा नै निर्भर रहेर सञ्चालित छन्। जिल्ला सदरमुकाम तानसेनको पुरानो योजना भुल्के होस् वा दुई वर्ष पहिले बनेको सिस्ने खानेपानी आयोजना दुवै लिफ्ट प्रविधिमा आधारित छन्। यसबाहेक सदरमुकामकै तीनधारा, होलाङ्दी पनि यही प्रविधिमा नै आधारित छन् भने जिल्लाकै चितुङधारा गाविसको बगनास, पूर्वी पाल्पाको हुमिन पश्चिम पाल्पाको मुझुङ, देउराली, छहरालगायतका स्थानमा पनि यही प्रविधिबाट जनताले खानेपानीको समस्याको समाधान गरिरहेका छन्। लिफ्ट प्रविधि पाल्पा जिल्लामा लोकप्रिय बनेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजनल कार्यालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्