बिरामीको अनुपातमा निःशुल्क औषधि अत्यन्त कम



दयाराम पण्डित, बाजुरा
बाजुराका बिरामीको अनुपातमा निःशुल्क औषधि भने निकै कम आउने गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. मोहन नाथका अनुसार बाजुरामा वर्षमा १ लाख ५६ हजार बिरामीको उपचार गरिन्छ। सरकारबाट प्राप्त निःशुल्क औषधीलाई भाग गर्दा प्रति बिरामी २५ रुपियाँ पर्छ। ‘२५ रुपियाँको निःशुल्क औषधिले बिरामीलाई ‘हात्तीको मुखमा जिरा’ भनेझैं हुन्छ’ –डाक्टर नाथले भन्नुभयो। अहिले नेपाल सरकारबाट बाजुराका बिरामीको उपचारका लागि ७० प्रकारको औषधि निःशुल्क दिने व्यवस्था छ।

बाजुराका लागि केन्द्रबाट ७० प्रतिशत खरिद गरी पठाउनुपर्छ, क्षेत्रले किन्न पाउने १० प्रतिशत र जिल्लाले किन्न पाउने २० प्रतिशत, औषधि हो। जिल्लामा भाग आएको २० लाख रुपियाँ बराबरको औषधिमा ठेक्का गर्दा १७ लाख ९७ हजार रुपियाँ बराबरको औषधि खरिद गरी गाउँमा पठाइसकेको छ। केन्द्र र क्षेत्रबाट आउने औषधिको नाममा यो वर्ष केही प्रकारको औषधि जम्मा दुईपटक मात्र प्राप्त भएको छ। ‘सरकारले तोकिएअनुसारको औषधि अहिलेसम्म पूरा भएको छैन। आए पनि एक एक आइटम आउँछ’ –डाक्टर नाथले भन्नुभयो।

डा. नाथले स्वास्थ्यमन्त्री गगन थापाको भन्नुभयो– ‘जिल्लामा औषधि नभए २४ घण्टामा खबर गर्नु। सके औषधि नसके रकम पठाइदिनेछु।’ तर, जिल्लामा न पर्याप्त औषधि छ न केन्द्रले औषधि पठाएको छ। डाक्टर नाथले औषधि पाउने आशातित कुरा गर्नुभयो तोकिएको औषधि जिल्लामा आउनेछ। ‘स्वास्थ्य चौकीले पाउने ३५ प्रकारका निःशुल्क औषधि पनि सबै पर्याप्त मात्रमा छैन’ –रुगिन स्वास्थ्य चौकी अनमी प्रेमकला मल्लले बताइन्। सबै मात्रामा औषधि नभए पनि सामान्य मात्रामा औषधिको अभाव नभएको डा. नाथको भनाइ छ। ‘जिल्लामा प्राप्त हुने कोटाअनुसारको औषधि पुगिसकेको छ। यद्यपि उक्त कोटाको औषधिले मात्र नपुग्ने हुँदा सरकारले कोटा बढाउनुपर्छ’ –डा. नाथले भन्नुभयो।

बाजुराका २६ वटा स्वास्थ्य चौकी २६ बर्थिङ सेन्टर, १ प्राथमिक स्वास्थ्य केन्द्र र एक जिल्ला अस्पतालसहितका सरकारी स्वास्थ्य संस्थाहरू छन्। प्रइक स्वास्थ्य संस्थामा बिरामीको घुइँचो हुन्छ। ‘सरकारी निःशुल्क औषधि नगन्यरूपमा पाएपछि मेडिकलकै औषधिको भरमा छौं’ –बिरामीको दुःखेसो छ।

मौसम परिवर्तनसँगै संक्रमणजन्य बिरामीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको अस्पताल स्रोतले बताएको छ। जिल्ला स्वास्थ्य कार्यालयमा बाजुरामा दिनप्रतिदिन पानीजन्य संक्रमण, झाडापखालाका बिरामीको संख्यामा आउने गरेको बताइएको छ। हप्तामा आइतबार र सोमबारमा बिरामीहरू बढी आउनु गरेको डा. टीका राईले बताउनुभयो। प्रत्येक दिनमा कम्तीमा १५० बढी संक्रमणजन्य र दमका बिरामी आउने गरेको डाक्टर राईले बताउनुभएको छ। मौसमा परिवर्तनका कारण विभिन्न खालका संक्रमण देखिने भएकाले तातोपानी पिउनुका साथै सफा स्वच्छ रहन डाक्टरहरूको सुझाव रहेको छ।

प्रतिक्रिया दिनुहोस्