गाउँगाउँमा मौरीपालनको आकर्षण



मौरीपालक किसान भन्छन्– बिदेश गएको भन्दा मौरीबाटै धेरै कमाइन्छ

नरेन्द्र केसी, दाङ । त्रिपुर नगरपालिकाकाभित्रका दुर्गम क्षेत्रको रुपमा चिनिने भित्री गाउँहरुमा मौरीपालनप्रति आकर्षण बढेको छ । अन्य ठाउँको तुलनामा यहाँ मौरीका लागि आवश्यक फूल धेरै रहेकाले पनि यहाँ आकर्षण बढी देखिएको हो ।

यो क्षेत्रमा मौसमअनुसार तोरी, च्यूरी, रुदेलोलगायतका फूल प्रशस्त पाइने भएकाले मौरीपालनको राम्रो संभावना रहेको मौरीपालक कृषक हिराबहादुर बहकारीले जानकारी दिनुभयो । यो क्षेत्रका साजखर्क, कालापहरा, पेदा, नारेवाङ, सिमकोटी, बगाले, शिवपुरी आदि क्षेत्रमा पर्याप्त फूल पाइने भएकाले मौरीपालनको राम्रो संभावना छ ।

यो क्षेत्रका मौरीपालक किसानले बर्षमा छ पटकसम्म मह काड्ने गरेका छन् । जसका किसानहरुले राम्रै आम्दानी गरिरहेका छन् । बहकरी, केशर घर्तीलगायतका किसानले धेरै मौरी पालेका छन् भने अन्य किसानले भर्खरै शुरुवात गर्न थालेका छन् । ‘मैले ६२ घार मौरी पालेको छु’– बहकरीले भन्नुभयो– ‘सबै खर्च कटाएर बर्षमा तीन लाख रुपैयाँ जति बचाउन सकिन्छ ।’

अन्य ठाउँमा तोरी फूल खाएको कार्तिके महलाई राम्रो मान्ने गरिए पनि आफ्नो ठाउँमा रुदेलो खाएको मह अझ राम्रो हुने उहाँले बताउनुभयो । ‘अब फागुनमा मह निकालिन्छ, रुदेलो खाएको मह त कात्तिकेभन्दा पनि धेरै गुणा राम्रो हुन्छ’– उहाँले भन्नुभयो ।

त्यस्तै ४० घार माहुरी पालेका केशर घर्तीले पनि बर्षभरि माहुरीकै स्याहारमा लाग्ने हो भने अरु काम नगरे पनि परिवार पाल्न सकिने बताउनुभयो । ‘सबै खर्च कटाएर बर्षमा दुई लाख वचत गर्न सकिन्छ’– उहाँले भन्नुभयो– ‘बिदेश जानेहरुले पनि कमाउने यति नै हो, घरमा छोराछोरीसँग बसेर पनि गर्न सकिन्छ, मौरीपालनमा राम्रो संभावना छ ।’ माथितिर च्यूरीका रुखसहितको जंगल र तल गाउँ भएकाले माहुरी चराउन यो ठाउँमा सजिलो हुने गरेको छ । नजिकका गाउँबाट समेत यो ठाउँमा माहुरी चराउन ल्याउने गरेको स्थानीयले बताए ।

पछिल्लो समयमा विभिन्न संस्थाले पनि माहुरीको घारका लागि अनुदान दिन थालेपछि किसानहरु थप उत्साहित भएका छन् । त्यसो त स्थानीय वन समूहले पनि यो बर्ष १५ घर किसानलाई केही सहयोग गरेको छ । यसअघि बाटो नभएकाले यहाँको मह बाहिर पठाउन समस्या भए पनि अब स्थानीयकै पहलमा बाटो बनेपछि मह बाहिर लैजान पनि सहज हुने स्थानीयको अनुमान छ । यो क्षेत्रमा तरकारी र बाख्रापालनको पनि राम्रो संभावना रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्