बंगलादेश टेस्ट बचाउने आशामा



नयाँ दिल्ली, (एजेन्सी)
बंगलादेशले हैदरावादमा जारी भारतविरुद्धको एक मात्र टेस्टको तेस्रो दिन गतिलो ब्याटिङ पस्केको छ। भारतले बनाएको ६ सय ८७ रनको जवाफमा बंगलादेशले शनिबारको खेल समाप्तिसम्म ६ विकेटको क्षतिमा ३ सय २२ रन जोडेको छ।

जसमा शकिब अल हसन, मुशफिकुर रहिम र मेहेदी हसनले अर्धशतक बनाएपछि बंगलादेशको खेलमा फर्कने आशा बनेको हो। पाहुना टोली १ सय ६६ रनले पछाडि छ।

बंगलादेशका सबैभन्दा  अनुभवी जोडी शकिब र मुशफिकुरले पाँचौं विकेटका लागि १ सय ७ रन जोडेर टोलीलाई आधार दिएका थिए। जब कि टोलीले तीन विकेट छिट्टै गुमाएको थियो। शकिब आउट भए पनि मुशफिकुर र मेहदीको जोडीले सातौं विकेटका लागि ८७ रनको साझेदारी गरेर टेस्ट जोगाउनेतिर अग्रसर गराएका छन्।

क्रिजमा डटेका मुशफिकुर ८१ रनमा र मेहदी ५१ रनमा नटआउट रहेका छन्। १९ वर्षीय मेहेदीको यो पहिलो टेस्ट अर्धशतकसमेत थियो। यसअघि शकिब ८२ रनमा नम्बर एक टेस्ट बलर रविचन्द्रन अश्विनको सिकार भएर पवेलियन फर्केका थिए।

प्रतिक्रिया दिनुहोस्