गुण्डा दौड



आइजीपी को होला ? अहिले जनस्तर र पार्टी कार्यकर्ताहरूमाझ यो प्रश्न निकै उठिरहेको धरहराले चाल पाएको छ। यसले सुने अनुसार आज आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा निर्णय गर्ने संभावना छ। उता नियुक्तिको व्याख्या गरिदिन माग गर्दै शुक्रबार नै कार्यालय समय सकिएपछि सर्बोच्च अदालतमा रिट दर्ता गरिएको छ।

सो रिटकोबारेमा अदालतको आदेश नआइकन सायद मन्त्रिपरिषद्ले आज निर्णय गर्छ कि गर्दैन त्यो कुरा निश्चित भइसकेको छैन। अर्को नियुक्ति नभइसकेको अवस्थामा के आधारलाई टेकेर सर्बोच्चबाट आदेश गराउन खोजिएको हो त्यो पनि प्रष्ट छैन।

व्यवहारका कुरा गर्दा विगतमा धेरै आइजीपी बरिष्ठताका आधारमा र केही सरकारको तजबीजी अधिकारको आधारमा नियुक्ति भएका थिए। आइजीपी काण्ड यति सम्म गज्याङमज्याङ भएछ कि एकथरी गुण्डाहरूसमेत यसको पछि दौडेको धरहराले चाल पाएको छ। हिजो एकथरीले राजधानीको एक ठाउँबाट भारतको सत्तारुढ दल भाजपाका नेताहरूलाई पनि फोन गरेर पावर देखाउन लगाएको पाइयो।

के के देख्नु परेको होला ? एउटा प्रहरीको हाकिम छान्न पनि अब दिल्ली मन्त्रणाको जमाना आएछ। पहिला भए नारायणहिटीतिर घुसपैठ हुन्थ्यो क्यार अहिले त सिधै ‘दिल्ली डिलिङ’। त्यो पनि हतियार तस्कर र गुण्डाहरू मार्फत्।

यस्तो हुन थालेपछि जनताले बरु राजतन्त्र नै फर्कियोस् अन्त जाने ‘पावर सेन्टर’ यतै रहोस् भन्नु कुन ठूलो भयो र ? बुझ्नेलाई यो कुरा गहिरो छ है पाठकबृन्द। आजलाई यति नै ?

प्रतिक्रिया दिनुहोस्