उपाधि जित्न आर्मी र संकटा भिड्दै



गोकुल घोरसाइने, बारा
बारामा जारी रुस्लान सिमरा गोल्ड कपको आठौं संस्करण उपाधि होडमा त्रिभुवन आर्मी क्लब र सीएमजी संकटा क्लब सिमरा रंगशालामा शनिबार आमनेसामने हुँदै छन्। सेमिफाइनलमा आर्मीले हिमालयन शेर्पा क्लब र संकटाले डिफेन्डिङ च्याम्पियन विजय युथलाई स्तब्ध पार्दै उपाधि भिडन्त पक्का पारेका थिए।

दुवै टोली ‘ए’ डिभिजनका ४ सहित आठ टिमलाई पछि पार्दै सिमरा रंगशालामा उपाधि भिडन्तमा पहिलो पटक आमनेसामने भएका हुन्। अन्तिम दुईमा स्थान बनाउने क्रममा आर्मीले बिहीबार हिमालयन शेर्पा र संकटाले निकै बलियो मानिएको विजय युथलाई सेमिफाइनलमा बुधबार २–१ कै अन्तरमा पराजित गर्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको थियो।

छैठौं सस्करणको विजेता आर्मी र पहिलो पटक उपाधिनजिक पुगेको संकटाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान छ। राजधानीबाहिर सबैभन्दा बढी धन राशीमध्येको एक सिमरा गोल्ड कपको उपाधि पहिलोपटक उचालेर संकटा नयाँ इतिहास रच्ने दाउमा छ भने नेपाल आर्मीले इतिहास दोहोर्याउने योजना बुनेको छ।

आर्मी प्रतियोगिताको सबै संस्करणमा निरन्तर सहभागी हुँदै आएको छ भने संकटा ३ वटा संस्करणमा मात्र सहभागी बनेर उपाधिनजिक पुगेको हो। क्वाटरफाइनलमा बाई पाएका दुवै टोलीले यो संस्करणमा दुई खेल मात्र खेलेका छन्।

सिमरा रंगशालामा शुक्रबार आयोजित प्रिम्याच कम्फ्रेन्समा दुवै टिमका प्रशिक्षकले गोल्डकपको आठौं संस्करणको उपाधि आफूले जित्ने दाबी गरे। यस सिजनमा संकटा र आर्मीबीच यो चौथो भेट हो। यसअघिका तीन खेलमा आर्मीले एक र संकटाले दुईपटक जित हात पारेका छन्।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले संकटा बलियो टिम भएकाले फाइनल भिडन्त सहज नभएको बताए। संकटाको अटइकिङ पक्ष निकै राम्रो भएको भन्दै न्यौपाने त्यसलाई रोक्ने गरी तयारी भइरहेको बताउँछन्।

उत्कृष्ट लयमा रहेका नवयुग श्रेष्ठमा भरपरेको आर्मीलाई गोलरक्षक विकेश कुथुको अभाव भने खड्किने देखिएको छ। क्वाटरफाइनलमा वीरगन्ज युनाइटेडविरुद्धको खेलमा टाउकोमा चोट लागेर घाइते बनेका गोलरक्षक कुथुको अवस्था सामान्य रहे पनि संकटा विरुद्धको खेल भने गुमाउनेछन्। आर्मीले विकेशको साटो सुशील श्रीवास्तवलाई गोलपोस्टको जिम्मा लगाउने भएको छ।

उता, संकटाका प्रशिक्षक सल्यान खड्गीले आर्मी बलियो टिम रहेकाले सोहीअनुसारको रणनीति बनाएर खेलिने बताए। उनले आठौं संस्करणको उपाधि उचालेर सिमरा गोल्ड कपमा नयाँ इतिहास कोर्ने तयारीमा रहेको बताए। आर्मीका खेलाडीको तालमेल आफूले नजिकबाट हेरिरहेको भन्दै खड्गीले कमजोरी पक्षको फाइदा उठाएर गोल गर्ने प्रयास गरिने बताए।

सिमरा गोल्ड कपको विजेताले ट्रफीसहित पाँच लाख ५१ हजार चार र उपविजेता टोलीले २ लाख ५० हजार नगद रुपियाँ र ट्रफीमा चित्त बुझाउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्