गुन्जिए तारादेवी र अरुणा



ख्यातिप्राप्त गायिकाद्वय स्व. तारादेवी श्रेष्ठ र अरुणा लामाका गीतहरू राजधानीको मञ्चमा गुन्जिएका छन्। तन्नेरी पुस्ताले शुक्रबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमबीच यी दुई गायिकाको स्मृतिमा उनीहरूको गीत गुन्जाएका हुन्।

सांस्कृतिक संस्थानद्वारा दिवंगत गायिकाद्वय तारादेवी र अरुणा लामाको स्मृतिमा आयोजित सम्झनाका तरेलीमा तारादेवी र अरुणा लामा नामक कार्यक्रममा उनीहरूको गीत गुन्जिएको हो। संस्थानकै कलाकारहरूद्वारा कार्यक्रममा यी दुई अग्रज कलाकारहरूको गीत प्रस्तुत गरेका हुन्।

गायिका सपना लामाले तारादेवीको गीत तिमीलाई हाँसेर बिदा मात्र के गरेथें गाएर आरम्भ गरेको कार्यक्रममा संस्थानकै अग्रज गायिका लोचन भट्टराई अरुणा लामाको गीतका साथ प्रस्तुत भइन्। उनले अरुणाको सधैं जस्तो फेरी गीत सुनाएर दर्शक तानिन्। गायक रूपक चौधरीले अरुणाकै चर्चित गीत भेटिनु छुटिनु सुनाए।

कार्यक्रममा प्रस्तुत ११ गीतमध्ये ९ ओटा गीत तारादेवीको गाइएको थियो। कार्यक्रममा भिमकला गुरुङले साँघुरी वारिनी हो त्यो धारा पानी, टीका गुरुङले कर्कलो गाभा, चाँदनी मल्लले कालीपारि दाइ कति राम्रोलगायतका गीत प्रस्तुत गरेका थिए।

त्यस्तै गायक विपीन घिमिरेले तिम्रा पाउहरूमा, शीला विष्टले निर्दोष मेरा, राधिका भण्डारीले जताततै खोजे बोलका गीत सुनाएर तारादेवीलाई सम्झिए। कार्यक्रमको अन्तमा रूपक चौधरी र राधिका भण्डारीले तारादेवी र उदितनारायण झाको युगल रोमाञ्चाकारी गीत ए मेरी बिजुली प्रस्तुत गरेर दर्शक नचाएका थिए।

कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारहरूले प्रत्यक्ष वाद्यवादन प्रस्तुत गरेका थिए। गितारमा लोकराज राई, आकाश गोर्खाली, मादलमा पञ्चनारायण महर्जन, तबलामा भरत लाखे, बाँसुरीमा कृष्ण गुरुङ, मदन जर्गा, ढोलकमा भागिरथ सुस्लिङ, हार्मोनियममा रूपक चौधरी र किबोर्डमा रोहित सुवेदी थिए।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले सो कार्यक्रम शुरू हुनुभन्दा अघि दिवंगत कवि शिवराज सुवेदीको कवितासंग्रह जिन्दगी सार्वजनिक गरेका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विभाग प्रमुख भरतमणि सुवेदीले दिवँगत कवि शिवराज र उनको कविता लेखनबारे चर्चा गरेका थिए। संस्थानका महाप्रबन्धक राजेश थापाले स्वागत गर्दै गायिका तारादेवी र अरुणा लामाको बारेमा चर्चा गरेका थिए। अग्रज कलाकारहरूको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउन संस्थानले दिवंगत कलाकारहरूको स्मृतिमा कार्यक्रम गर्दै आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्