भारतले परमाणु शहर निर्माण गरिरहेको पाकिस्तानको आरोप



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका विदेश मन्त्रालयले भारतले दक्षिणी क्षेत्रमा एउटा गोप्य परमाणु शहर निर्माण गरिरहेको दावी गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता नफिस जकरियाले बिहीबार पत्रकार ब्रिफिंगका क्रममा एउटा प्रश्नको जवाफमा उक्त दाबी गरेको हो तर उनले यस विषयमा कुनै विस्तृत जानकारी दिएन।

भारतले पाकिस्तानको उक्त दाबीलाई कपोकल्पित भएको प्रतिक्रिया दिएको छ। भारतका विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने – ‘यो बिल्कुल निराधार आरोप हो। यो कथित गुप्त शहर पाकिस्तानको कपोकल्पित शहर हो भन्ने लाग्छ।’
जकरियाले भारत अन्तर महाद्विपीय क्षेप्यास्त्र परीक्षण गरिहेको र त्यसले यस क्षेत्रको सामरिक सन्तुलन बिगार्ने पनि आरोप लगाए। धेरैभन्दा धेरै खतरनाक हतियार संकलन गर्ने भारतीय जारी अभियानलाई लिएर अन्तर्राष्ट्रिय समुदायले सचेत हुनुपर्ने र उसको पराम्परागत तथा गैरपरम्परागत हतियारको तीव्र विस्तारलाई अंकुश लगाउनुपर्नेमा उनले जोड दिए।

यस स्थितिमा पाकिस्तानसँग आफ्नो सुरक्षा तथा बचावका लागि सधैं तयार रहनेबाहेक अर्को विकल्प नरहेको प्रवक्ताले बताए। पाकिस्तानले भारतको परमाणु हतियारमा बृद्धिको मुद्दालाई राष्ट्र संघमा पनि उठाएका थिए।

भारतका प्रवक्ता विकास स्वरुपले भारतले सधैं आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गर्दै आइरहेको बताए। पाकिस्तानले ध्यान भड्काउने काम गरिरहेको र उसको लक्ष्य पाक प्रायोजित आतंकवाद र आतंकवादीलाई उनीहरूकोमा आश्रय दिने वास्तविक मुद्दाबाट ध्यान अन्त मोड्नु रहेको उनले आरोप लगाए।

सन् २०१५ डिसेम्बरमा अमेरिकी पत्रिका फोरेन पोलिसीले आफ्नो एउटा प्रतिवेदनमा भारतले गोप्य रूपमा परमाणु केन्द्र निर्माण गरिरहेको समाचार प्रकासित गरेको थियो। उक्त केन्द्र भारतीय उपमहाद्विपमा त्यस प्रकारको सबैभन्दा ठूलो केन्द्र हुने अखबारले जनाएको थियो। यसको उद्देश्य भारत आफैं हाइड्रोजन बम बनाउने क्षमतामा बृद्धि गर्नु हो।

प्रतिक्रिया दिनुहोस्