समाज रूपान्तरण गर्न खोज्ने सचेत कवि



मोहन दुवाल
वि विक्रम सुब्बा आफ्नै शब्द शैलीमा विकृतिका विरुद्ध, विकृति रुचाउने नेतागणका विरोधमा कवितामार्फत कटु वाण हान्न सफल तथा चर्चित कवि हुन् । यथार्थमा देख्दै आएका पात्रहरू कवितामा निर्भिकतापूर्वक खोप्न मन पराउने कवि विक्रमले थुप्रै खालका कुपात्रहरू कवितामा राखेर खराब चरित्रको भन्डाफोर गर्न प्रयत्नरत छन् । कवि स्वतः प्रतिपक्ष हुन्, देखेका विकृतिहरूको आलोचना गर्नु कविको कर्म हुन् । यस खालका भावनाहरू मनमा भरेर कविता कोर्दै आएका कवि विक्रम समाजलाई रूपान्तरण गर्न कविता अस्त्रका रूपमा प्रयोग हुनुपर्ने मान्यता राख्छन् ।

वि.सं. २००९ पुस २० गते पाँचथरमा नरेन्द्रबहादुर इ·बाबा र योना हाङमाका छोरा भई जन्मेका डिल्लीविक्रम इ·बाबा नै आफूलाई कविता कर्ममा समर्पित तुल्याइसकेपछि विक्रम सुब्बाका नामबाट परिचित तुल्याउँदै आएका आजका चर्चित कवि हुन् । लिम्बू संस्कृतिबाट आफूलाई परिचित तुल्याउँदै लिम्बू संस्कृतिबाट नै साहित्यिक प्रेरणा प्राप्त गरेका यिनले ग्रामीण विकास विषयमा स्नातकोत्तर डिग्री हासिल गरेका छन् । स्पष्ट आफ्नो विचार राख्न नडराउने, समाजमा आफूसक्दो कुनै पनि क्षेत्रबाट केही सेवामूलक कार्यहरू गरिरहनुपर्ने धारणाका पक्षपाती विक्रम सुब्बा कसैले छिः भन्न नपाऊन् भनेर जीवन संघर्षमा आफूलाई समर्पित तुल्याउन प्रयासरत छन् । जीवन यिनको भाषामा ‘सभ्यतालाई ऊर्जा दिने गति हो ।’ बर्तोल्ट बे्रख्तका रचनाहरू पढेर आफूलाई सबल तुल्याउँदै आएका यिनी गोपालप्रसाद रिमालका कविताहरूबाट विशेष प्रभावित छन् ।

शान्ति यिनको चाहनाको विषय रहेको कारणले २०३४ सालतिर नै शान्तिको खोजमा खण्डकाव्य लिएर देखापरेका यिनै कविले कविको आँखा कविताको भाखा कवितासङ्ग्रहमार्फत आफ्नो दृष्टि मान्यता कवितामा लिएर देखापरेका हुन् । उनी उक्त कवितासङ्ग्रहमा आफ्नो अनुभूति कवितासम्बन्धमा यसरी पोख्छन्– भन्न मन लागेका कुराहरू मैले कवितामा नै भनेको छु । मेरा अनुभव र ज्ञानहरू मेरो दृष्टिकोणमा विकसित भए । तिनीहरू नै कविताको अनुहार लिएर जन्मिए । निकै दिनसम्म नानीलाई जस्तै मैले काखमा खेलाएँ, माया गरेँ अनि अरुलाई पनि देखाएँ । यस्तै खालका मर्मशील भावनाबाट ओतप्रोत भई कविता लेखनमा लागेका कवि विक्रम सुब्बा कवितामा विचार र सीपलाई नापतौल गरी समन्वय गर्न खोज्ने कविका रूपमा परिचित छन् । कविता साहित्य विधामा सबभन्दा बढी लेखिने विधा हो । महिनामा दर्जनौं दर्जन कवितासङ्ग्रहहरू विमोचित हुन्छन् । तर कविता मन पराएर पढ्ने पाठकहरू हाम्रो समाजमा धेरै नै कम छन् । यसै सन्दर्भमा चर्चा गर्दा भन्न सकिन्छ यिनै कविहरूको कोटीमा विक्रम सुब्बा पाठकहरूले मन पराएर पढ्ने कविहरूमा दर्ता हुन्छन् । यिनको कवितामा सिद्धान्तका ठाडा कुराहरू मात्र छैनन्, सीप र शैलीका विम्बहरू पनि छरपस्ट छन् । सुन्दर शैलीमा कविता लेख्नेहरू अत्यन्त न्यून रहेको हाम्रो देशमा विक्रम सुब्बाको उपस्थितिले कवितामा केही चाख बढाइदिएका छन् ।

प्रगतिवादी दर्शन नै यिनको जीवन दर्शन भएको कारणले यसै भावधाराबाट यिनका कविताहरू प्रवाहित छन् । कविता यिनको जीवन दर्शन बनेकै कारणले यिनले बुझेको समाज, राष्ट्र, जनतालाई कवितामा सम्प्रेषण गर्न यिनी लालायित छन् । लिम्बू जातिका मर्मशील भावनालाई जीवनमा घोलेर जीवनलाई खोज्दै गरेका कवि विक्रम सम्पूर्ण अन्याय, अत्याचारबाट जीवनलाई मुक्त पार्न चाहने मानिसको समूह र संसारलाई फेर्न चाहने जनसमूहको शक्तिमाथि विश्वास राख्ने गर्छन् । फरासिलो स्वभावका विक्रमका कविताहरूका सन्दर्भमा भन्नुपर्दा– यिनका कविताहरू पनि फरासिला र स्पष्ट बुझिने खालका छन् । कुनै पनि विषयमा कुनै पनि समयमा कविता लेख्न रुचाउने कवि विक्रम ‘एउटा गर्भिणीलाई जुन बेला व्यथा लाग्छ, जहाँ व्यथा लाग्छ, त्यहीँ नानीलाई जन्म दिएजस्तै कवितालाई जन्माउन चाहन्छु भन्छन् । कवितामा कस्तो मिठास सीप भर्न सिपालु छन् उनको सपनामा कवि विक्रम सुब्बा लेख्छन्ः
फूलहरूको मुस्कानमा पनि
गिद्दहरू आफूलाई व्यङ्ग्य गरेका देख्छन्
र फूललाई कुटेर झार्छन्
तर वसन्त डुल्छ
फूल फेरि फुल्छ र तिनीहरू हार्छन् ।
यस्तै मार्मिकताका कविताहरू कोर्न सफल विक्रमका कविताहरू फूलजस्तै सुन्दर देखिन्छन् । २०२७ सालमा कविता प्रकाशन गरेर देखापरेका यिनको सबभन्दा पछिल्लोपटक प्रकाशित कवितासङ्ग्रह हो– ‘निरङ्कुश जुँगाविरुद्ध’ । यिनै कवि विक्रमका प्रकाशित कविताका अन्य कृतिहरूमा शान्तिको खोजमा (२०३४), कविको आँखा कविताको भाखा (२०३९), सगरमाथा नाङ्गै देखिन्छ (२०४१), सुम्निमा पारुहाङ (२०४५) र विक्रम सुब्बाका कविता र गीतहरू (२०६०) प्रकाशित छन् । कविता र गीतहरूमा आफ्नो दृष्टि, अडान र विश्वास खोप्न सिपालु कवि विक्रम नेपाली साहित्यका निकै पाठक र श्रोताहरूका माझमा लोकप्रिय छन् ।
जीवनका थुप्रै आरोह–अवरोह भोग्दै आएका कवि विक्रमले जागिरका क्रममा बटुलेका अनुभवहरू, जीवन क्रममा गुजारेका थुप्रै क्षणहरू, आफ्नो जाति विशेषका संस्कृतिहरू, राजनीतिका डङ्डङ्ती गन्हाउँदा श्वास–प्रश्वासहरू, बेथितिका मर्मशील प्रसङ्गहरूलाई आफ्नो ऊर्जाशील भावनाहरूमा घोली कविताका हरफहरू बनाउन संघर्षरत छन् । निम्न–मध्यमवर्गीय परिवारमा जन्मेका यिनले गाउँकै पाठशालामा प्रारम्भिक अध्ययन पूरा गरी देशका अनेकौं ठाउँमा डुलेर आफूलाई परिमार्जित तुल्याउँदै जीवन धानेको देखिन्छ । सामाजिक परिवेशबाट नै केही सिक्ने र यही परिवेशका लागि लेख्ने दृष्टिचेत्ले नै यिनलाई मर्मशील जनपक्षीय कवि बन्न प्रेरित गरे । इमानदार कविहरू पछिसम्म बाँच्छन्, सही दृष्टि बोकेका कविताहरू पछिसम्म जीवन्त हुन्छन्, यही मर्ममा रमेर विक्रम सुब्बाहरूजस्ता सबै कविहरू कवितामा बाँच्न खोज्छन् । ‘विक्रम सुब्बाहरू घाम उदाएदेखि घाम अस्ताएसम्म ढुक्कसाथ काम गर्न पाइने र आफ्नो कामअनुसारको दाम माग्दा जुलुस निकाल्नु नपर्ने, गोली र झ्यालखानाको गोता खानु नपर्ने स्वस्थ सुन्दर नेपाल’को परिदृश्य भोग्न र देख्न रुचाउँछन् । सरल शब्दशैलीमा कटुसत्य लेख्न रुचाउने कवि भएकै कारणले सर्वसाधारणले यिनको कविता मन पराएर सुन्न र पढ्न रुचाउने गर्छन् । देशको खोक्रोपन, नाङ्गो मुहार हेर्दैमा तिक्त लाग्ने किसिमको पाएर कविले २०४० सालमा नै लेखेको यो कविता आज पनि कवितामा वर्णन गरिएजस्तै दृश्य देखिन्छ– सगरमाथा नाङ्गै देखिन्छ कवितामा कवि विक्रम लेख्छन्ः
बुद्धको खप्परबाट सापटी लिएर दुई आँखाहरू
स्तूपहरूमा टाँसेर गुम्बाहरू हेरिरहेका छन्
विदेशीको भरौटे भएका सपुतहरू,
स्वदेशी डोकोमा विदेशी झन्डा बोकिरहेका छन्
नेपाली चुचुराको सिउँदोमाथि फरफराउन
ढुक्कै विदेशी झन्डाहरू उक्लिरहेका छन्
झोक्रिएर बसेको सिङ्गो हिमालय विवश र उदाङ्गै देखिन्छ
जहाँबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ ।
देशको मार्मिकता पोख्न सक्षम कविका रूपमा स्वीकार गर्न सकिने कवि विक्रम सुब्बाको धेरैजसो कविताहरू सुन्दर, सुकोमल भावधारामा समाहित रहेका सुललित कविताहरू हुन् भन्न सकिन्छ । मानवीय संवेदनाका तीखो यथार्थ पोख्न रुचाउने यिनै कवि आफ्ना कविताहरूमा निजत्वको शील्प चातुर्यता देखाउन सफल छन् । गणतन्त्रवादी कविका रूपमा ख्यातिनामा कमाइसकेका यिनले २०६० सालमा नै दरबार भत्किरहेछ भनी कविता प्रकाशित गराएर दरबार भत्काउन यसरी कवितामा बल थपिदिएका हुन्ः
हीरामोतिको जामा फुकालेर भित्ताहरू नाङ्गै उभिएका छन्
झ्यालका आँखा–आँखामा फुटिसकेका छन् रङ्गीन सिसाहरू
ढोकामा काठका जिब्राहरू सडिरहेका छन्
पर्खालका हड्डीहरू धूलो भएर खस्दै छन्
कता गायब छौ अकबर ?
यता तिम्रो दरबार भत्किरहेछ
नजिकै यमुना नदी युगौंदेखि बगिरहेछ ⁄
समतामूलक मानव समाजका परिकल्पनाकार कवि विक्रम सुब्बा आफ्नै छुट्टै पहिचान र शब्दशैलीमा व्याप्त रहेका आजका चर्चित समसामयिक धाराका सबल र सफल कवि हुन् । यात्रामा अझ सफलता र सबलता थपिँदै जाओस्, शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्