लाइभमा लिम्बु संगीत



हिलिहाङ हाक्पारे पालाम सयङले बेस्मा लाङ्योक नाम दिई लिम्बु संस्कृतिमा आधारित मनोरञ्जनात्मक कार्यक्रममा लिम्बु कलाकारले आफ्ना नृत्य, गायन र वाद्यवादन प्रस्तुत गरेका थिए।

सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको संस्कृतिविद् सत्यमोहन जोशीले च्याबुङ बजाएर शुभारम्भ गरेका थिए। जोशीले लिम्बु भाषाको पहिलो गीत रेकर्ड गराउने गायक भगत सुब्बालाई लिम्बु गीत संगीतको क्षेत्रमा चार दशकदेखि योगदान पुर्याएबापत अभिनन्दन गरेका थिए। लिम्बु भाषाका गायक एवं गीतकार प्राज्ञ अशोक लोहरुङ राईलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा लिम्बु कलाकारहरूले आफ्ना मौलिक लोकगीत र लोकनृत्यबाट दर्शकलाई तीन घन्टासम्म मन्त्रमुग्ध तुल्याएका थिए। लिम्बु कलाकारहरूले लिम्बु गीत र नृत्यसहित कार्यक्रममा अतिथिलाई स्वागत गरे। सीता सिंगक र साथीहरूले स्वागत गीत आनी केरेक हिलिहाङ गाउँदा बाँकी कलाकारले नृत्य र गायनमा सघाएका थिए। गायिका श्रेयसी चेम्जोङले कार्यक्रममा लिम्बु गीत तागेर ग युमा गाउँदा दर्शकको निरन्तर तालीको साथ पाइन्। गायिका सुनिता थापले आफ्नो गीत केबे आइन्ग गाइन् भने कुशल थलङले चेथ्या के आइन्ग गाएका थिए। सुसन साम्सोहाङ र सुनिता थेगिमले सो फुङवान्बा नुमा गीत सुनाए। त्यस क्रममा कलाकारहरूले पालाम नृत्य प्रस्तुत गरेका थिए।

सधैंजसो नेपाली गीत गाउने लिम्बु गायक दीपक लिम्बुले कार्यक्रममा लिम्बु गीत मिन्जी मेहानेन् माफ्रेम्बा गाउँदा दर्शकले ताली र सिठ्ठीले उनलाई साथ दिए। उनलाई मनु नेम्वाङले साथ दिएकी थिइन्। यस्तै गायक सञ्जय तुम्रुक र मोहन मादेनले सिबन्दी स्योङ स्योङ गीत सुनाए। सञ्जय, देशु, सुसनसहितले प्रस्तुत गरेको गीत छुई पकन्दीमा लिम्बु नृत्यकारहरूले आफ्ना मौलिक नृत्य पस्किए। गायिका विष्णु चेम्जोङले सेप्माङ ओ गीत सुनाइन्। त्यसै गरी सञ्जय, मोहन, दीपा, सुसन, अमृतालगायतले आजुप्से आम्बी गीत प्रस्तुत गर्दा सम्पूर्ण लिम्बु नृत्य कलाकारले सामूहिक लिम्बु नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा संगीतकार शीलाबहादुर मोक्तानको संयोजकत्वमा गितार वादक आकाश गोर्खालीलगायत सांस्कृतिक संस्थानका विभिन्न कलाकारले प्रत्यक्ष वाद्यवादनमा साथ दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यमोहन जोशीले पूर्वदेखि पश्चिम नेपाल विविध संस्कृतिको धनी भएकाले विदेशले नेपालीलाई लोकसंगीत र लोकनृत्यको देश भनेर चिन्ने गरेको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्