मर्मत माग गर्दै राजमार्गमा चक्काजाम



गोकुल घोरसाइने, बारा
भत्किएको सडकबाट निस्किएको धुलोले बजार क्षेत्र प्रभावित बनेपछि बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गको शहीद चोकमा स्थानीय व्यापारीले निर्माणको माग गर्दै शुक्रबार पनि एक घण्टा चक्काजाम गरेका छन्। सडक मर्मतको माग गर्दै बुधबार आधा घण्टा सडक अवरुद्ध पारेका स्थानीयले निर्माण कार्य शुरू नभएसम्म प्रत्येक दिन चक्काजामको समय बढाउँदै लैजाने चेतावनी दिएका छन्।

भत्किएको लामो समयसम्म पनि सडक कार्यालयले निर्माणमा चासो नदेखाएपछि धुलोले स्थानयको स्वास्थयमा प्रतिकूल असर परेकाले आन्दोलन गर्नुपरेको उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष एव संघर्ष समितिका संयोजक टेकबहादुर लामा बताउँछन्। उनले निर्माण कार्य शुरू नगरिएसम्म चक्काजाम जारी र समय पनि बढाउँदै लगिने बताए।

राजमार्ग मर्मत र धुलो नियन्त्रणको माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय र डिभिजन सडक कार्यालय हेटौंडाका इन्जिनियर जयराम अधिकारीसहितको टोलीसँग नगरपालिका कार्यालयमा तीन दिनअघि भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अर्का स्थानीय विनोद भारतीले बताए। ‘बुधबारबाट नै काम शुरू गर्न माग गरेका थियौं’, भारतीले भने– ‘तर सडक कार्यालयका कर्मचारीले केही दिन मागेपछि चक्काजाममा उत्रिनुपर्यो।’ भारतीले यसअघि पनि यस्तै वार्ता पटकपटक भएको र सहमतिपछि पनि काम शुरू नगरेर झुक्याइएकाले यसपटक काम शुरू गरेपछि मात्र आन्दोलन फिर्ता हुने बताए। इन्जिनियर अधिकारीले सडक निर्माणका लागि कार्यालयले टेन्डर गरिसकेको र केही प्रक्रिया बाँकी रहेकाले स्थानीयले भने जस्तै एक दुई दिनभित्र नै कार्यालयले काम शुरू गर्न नसक्ने बताएको निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमलकुमार पोखरेलले बताए। सडक कर्मचारीले स्थानीयलाई थप ५⁄६ दिन पर्खन अनुरोध गरेको पनि उनले सुनाए।

डिभिजन सडक कार्यालयलले राजमार्गको उत्तरतर्फ निर्माण शुरू गरेको पक्की नाला र शहीद हीरालाल मार्गको निर्माणमा भएको ढिलासुस्तीले वर्षाको भल पानी जमेर राजमार्ग भत्किएको र हिउँद लागेसँगै बजार क्षेत्रमा धुलोको प्रकोप शुरू भएको हो। राजमार्गसँगै निर्माणाधीन नाला र हीरालाल मार्गमा काम अधुरो बनेपछि धुलोको प्रकोप थप बढेको छ।

राजमार्ग मर्मत नाला र सडक निर्माणको अवरुद्ध कामसमेत अघि बढाउन माग गर्दै दुई महिनाअघि नपा कार्यालयमा तालाबन्दी गरेका स्थानीयसँग सडक कार्यालयका तत्कालीन इन्जिनियर प्रकाशचन्द्र रावत र ठेकेदार सुरेन्द्रप्रसाद जैसवालले ३ दिनभित्र अवरुद्ध निर्माण कार्य सुचारु गर्ने र समयसीमाभित्र दुवै आयोजनाको काम सम्पन्न गर्ने लिखत गरे पनि सहमतिअनुसार काम शुरू नभएपछि स्थानीयमा अविश्वास बढेको हो। सडक र नाला निर्माणको एक वर्षअघि ठेक्का पाएको ठेकेदारले काम अधुरो छोडेर ७ महिनादेखि बेपत्ता बनेपछि पीडित स्थानीयले वर्षा याममा हिलाम्मे सडकमा धान रोपेका थिए भने धुलोको प्रकोप शुरू भएपछि यसअघि मुखमा मास्क बाँधेर राजमार्गमा पटकपटक प्रदर्शनसमेत गरेका थिए। निर्माण कार्य सुचारु गराउने नपा कार्यालयले समेत ठेकेदारलाई ताकेता गर्न नसकेको स्थानीयको गुनासो छ।

सडक निर्माणको क्रममा घर अघिल्तिर एक्साभेटरले खनेर माटो र ढुंगा थुपारेको र निर्माण सुचारु हुन नसकेपछि नगरपालिकाको भित्री भागमा पनि धुलोको प्रकोपसँगै सवारी र पैदल आवागमनमा समेत समस्या छ। नगरको मुख्य बजार क्षेत्र र व्यस्त मानिने शहीद चोकमा धुलो र हिलोको प्रकोप बढेपछि स्थानीय र रामाजर्ग भएर चल्ने सवारीसाधनका यात्रुले समेत लामो समयदेखि सास्ती बेहोर्दै आएका छन्। शहीद मार्ग र राजमार्गको उत्तरी किनाराको पक्की नाला निर्माणमा हँुदै आएको ढिलासुस्तीका कारण निकास अभावमा वर्षाको भल र ढल पानी पसेर राजमार्गमा ठूलाठूला खाल्टा बनेपछि सडक डिभिजन कार्यालय हेटौंडाले मर्मतको नाममा ४ महिनाअघि माटो र बालुवा थुपारेको र अहिले सोही स्थानबाट अत्यधिक धुलो निस्किएर जनजीवन प्रभावित बनेको हो। बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलको सिफारिसमा छनोटमा परेको नालासहितको ७ किमि लामो शहीद हीरालाल सडक र राजमार्ग सुरक्षाका लागि उत्तरी किनाराको शहीदचोकदेखि जमुना पैनीसम्म ५ सय मिटर पक्की नाला निर्माण कार्य १ वर्षदेखि अधुरो छ। सडक कार्यालयले शहीद मार्गका लागि देव एन्ड शयर जेपी प्रालिलाई ५ करोड र नाला निर्माणमा अशोक कन्ट्रक्सन कलैयालाई २० लाख रुपियाँमा गत फागुनमा ठेक्कामा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्