श्रीलंकामा बुद्धधर्म बारे चर्चा



नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यु स्वर्णलथा पेरेरा श्रीलंकामा बुद्ध धर्मबारे एक कार्यक्रममा प्रवचन दिनुहुँदै। तस्वीरः नेपाल समाचारपत्र

नेपाल समाचारपत्र
काठमाडौं
नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस परेराले नेपाल र श्रीलंकाबीच सम्बन्ध सयौं वर्षदेखि सुमधुर रहनु भगवान गौतम बुद्धको दर्शन र विचारको महत्त्वपूर्ण भूमिका रहेको धारणा राख्नुभएको छ।
धर्मकीर्ति संरक्षण कोषले शुक्रबार राजधानीको श्रीघःस्थिति धर्मकीर्ति विहारमा आयोजित श्रीलंकामा बुद्धधर्म विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।

बुद्धधर्म नेपाल र श्रीलंकालाई जोड्ने महत्त्वपूर्ण कडी रहेको बताउँदै राजदूत परेराले राजा जयस्थिति मल्लपछि लुप्त रहेको स्थविरवाद बुद्धधर्म पुनःजागरणका लागि श्रीलंकाको विशेष योगदान रहेको पनि स्मरण गर्नुभयो। भारतका सम्राट अशोक र उहाँका छोरा महेन्द्र र छोरी संघमित्राले श्रीलंकामा बुद्धधर्म भित्र्याएको उल्लेख गर्दै उहाँले नेपाल र श्रीलंका जनताहरूको धार्मिक आस्थाका हिसाबले महत्त्वपूर्ण गन्तव्य रहेको पनि बताउनुभयो।

वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएका ऐतिहासिक महत्त्वका स्वयम्भूस्थित आनन्दकुटी विहार र बुंगमतिको मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणका लागि पनि श्रीलंकाको सरकारले पहल गरिरहेको पनि राजदूत परेराले जानकारी दिनुभयो।

अध्यक्ष भिक्षुणी धम्मवतीले दुई देशका सम्बन्धमा बुद्धधर्मले पारेको प्रभावबारे केन्द्रित गर्दै नेपालका भिक्षु, भिक्षुणीहरूलाई बुद्धधर्म बारे हासिल गराउन, बुद्धधर्मको विकास र विस्तारका लागि श्रीलंकाको सरकार, जनताले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो। सो अवसरमा राजदूत कोषका सचिव प्रफुल्लकमल ताम्रकार, कार्यकारिणी सदस्य मिना तुलाधरलगायतले बोल्नुभएको थियो। कार्यक्रममा राजदूत परेराले राख्नुभएको विषयमा सहभागीहरूबीच प्रश्नोत्तर भएको थियो।

प्रतिक्रिया दिनुहोस्