टिटिहिरिया सातौं बालमैत्री गाविस हुने



बाँके, (नेस)
बाँकेको टिटिहिरिया सातौं बालमैत्री गाविस घोषणा हुने पक्का भएको छ। देशभरमा अहिलेसम्म ६ वटा गाविस⁄नगरपालिका बालमैत्री घोषणा भएका छन्।

बालमैत्री गाविस घोषणाका लागि पार गर्नुपर्ने एउटा स्थानीयसहित ४० वटा सूचक पूरा गरिसकेको टिटिहिरियाले २९ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको उपस्थितिमा बालमैत्री गाविस घोषणा गर्ने तयारी गरेको हो।
बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै टिटिहिरिया गाविसका सचिव तप्त आचार्यले बालमैत्री गाविस घोषणाका लागि पूरा गर्नुपर्ने सबै सूचक पार गरेको बताउनुभयो। २०७१⁄०७२ मा १७.४४ प्रतिशत बजेट छुट्याएर काम थालेको टिटिहिरियाले चालू आर्थिक वर्षमा २० प्रतिशत बजेट छुट्याएको छ। जिविसले ३ लाख ३७ हजार दिएको थियो।

देशमा अहिलेसम्म घोषणा भएका ६ वटा गाविस तथा नगरपालिकाका लागि अन्तर्राष्ट्रिय संस्थाले पूर्णरूपमा सहयोग गरेको थियो। बाँकेको टिटिहिरिया गाविसमा कसैले सहयोग गरेका छैनन्। ‘कुनै संघसंस्थाको सहयोगविना नै हामीले गाविसलाई बालमैत्री घोषणा गर्न थालेका छौं’, गाविस सचिव आचार्यले भन्नुभयो– ‘यस हिसाबले टिटिहिरिया पहिलो बालमैत्री गाविस हो।’

बालमैत्री गाविस घोषणा भएपछि जिल्ला विकास समितिले २ लाख र सरकारले दिने अनुदानमा १० प्रतिशत बजेट बढेर आउँछ। टिहिरिया गाविसमा १० हजार ९ सय ६० जनसंख्या रहेकोमा ३ हजार ९ सय ५२ जना बालबालिका रहेका छन्। यो गाविसमा आठवटा सामुदायिक र चारवटा निजी विद्यालय छन्। १३ वटा बालविकास केन्द्र छन्। सुविधा सम्पन्न बर्थिङसेन्टरसहितको स्वास्थ्य संस्था, सबै वडा, स्कुलमा बाल क्लब रहेको टिटिहिरियामा बालमैत्री धारा, चर्पी रहेका छन्। बालबालिकाको सहभागितामा नीति निर्माण बन्ने गरेको छ।

बालमैत्री घोषणाले बालबालिकाको सहभागिता, बचाउ, संरक्षण र विकासलाई टेवा सुनिश्चितता गर्दछ। चौथो बालमैत्री गाविस घोषणाका लागि लाइनमा बसेको टिटिहिरिया धकेलिएर सातौंमा पुगेको सम्बद्धहरू बताउँछन्।
बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बाँकेका वनकटवा, महादेवपुरी, सीतापुर र चिसापानी गाविस पनि बालमैत्रीको पाइपलाइनमा रहेका बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्