मोर्चाका दुई दर्जन कार्यकर्ता पक्राउ



राजविराज, (नेस)
नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसन संघको राजविराजमा आयोजित दोस्रो राष्ट्रिय अधिवेशन बिथोल्ने क्रममा मधेसी मोर्चाका दुई दर्जनजति नेता कार्यकर्ता पक्राउ परेका छन्।

शुक्रबार दिउँसो संघको उद्घाटन सत्र शुरू हुनै लाग्दा नाराजुलुससहित उपस्थित भएका मधेसी मोर्चाका कार्यकर्ता कार्यक्रम बिथोल्न खोजेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। संघको ब्यानर र झन्डा च्यात्दै मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुच्छेविरुद्ध नाराबाजी गर्न थालेपछि कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

पक्राउ पर्नेमा राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष शतिसकुमार सिंह, सद्भावना पार्टीका ३ नं. क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, कैलु रामलगायत दुई दर्जनजति नेताकार्यकर्ता छन्। पार्टीका अध्यक्ष बिजुक्छेले संघीयता, संविधान र मधेस विरोधी अभिव्यक्ति दिएको भन्दै विरोध जनाएको मोर्चाका कार्यकर्ताले जनाएका छन्।

संघको जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष नारायणमान बिजुक्छेले सम्बोधन गर्ने कार्यक्रम भए पनि अन्तिम समयमा उनी उपस्थित नभएको संघका अध्यक्ष डिल्लीप्रसाद काफ्लेले जानकारी दिए। सप्तरीका डीएसपी दानबहादुर कार्कीले कार्यक्रममा झडप हुने सम्भावना बढेपछि दुवै पक्षको सुरक्षालाई मध्यनजर गरी मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्