तीन दिनमा चार दुर्घटना, सातको मृत्यु



नेपाल समाचारपत्र
पाल्पा
पाल्पामा दिनहँु दुर्घटना हुन थालेका छन्। सोमबार, मंगलबार र बुधबार पाल्पामा भएका चार छुट्टाछुट्टै दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन् भने एक दर्जन बढी घाइते भएका छन्। जिप, मोटरसाइकल, बस र ट्याक्टर दुर्घटनामा मानिसको मृत्यु र घाइते भएका हुन्।

पछिल्लो समय बुधबार राति तानसेन नगरपालिका–१२ सालघारीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। कार्यालयका अनुसार खाद्यान्न बोकेको लु३त ६५२ नम्बरको ट्याक्टर दुर्घटनामा २८ वर्षीय चालक विकास सारु (गोरे) को घटनास्थलमै ज्यान गएको हो। ट्याक्टर ब्याक गर्ने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

यसै गरी बुधबार बिहान पश्चिम पाल्पाको कुसुमखोला गाउँ विकास समिति वडा नं २ मा हार्थाेक छहरा खण्डको सडकमा लु१क ११२० नम्बरको हार्थाेकस्थित भैरव मेमोरियल बोर्डिङको स्कुल बसले ठक्कर दिँदा कालिका माध्यमिक विद्यालय पालुङमैनादीमा पढ्ने सविना बगालेलाई ठक्कर दिँदा बगालेको घटनास्थलै मृत्यु भएको थियो।

त्यस्तै मंगलबार दिउँसो नै तानसेन नगरपालिकास्थित तानसेन रिडी तम्घास मार्गको बतासेडाँडामा बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु१ख ६९८२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु२१प ९२८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा पाल्पा यम्घा घर भई हाल तानसेन नगरपालिका गैरागाउँ बस्ने १९ वर्षका संगीत दर्माको मृत्यु थियो। सो दुर्घटनामा मोटरसाइकल पछाडि रहेका चिदीपानी–४ का १९ वर्षीय अमित सारु घाइते भएका थिए।

त्यस्तै जिल्लाको दक्षिण भेगमा पर्ने रूपन्देहीसँग सिमाना जोडिएको दोभान गाविस वडा नं. ४ श्रीडाँडा ज्यामिरेमा सोमबार राति भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा १५ जना घाइते भएका थिए। सो दुर्घटनामा दोभान–२ देउरालीका ४९ वर्षीय हरिप्रसाद राना, ३० वर्षीय मीनप्रसाद थापा, ४१ वर्षीय जसवीर वाकावल र २६ वर्षीय यमबहादुर रानाको मृत्यु भएको प्रहरीको भनाइ छ। दोभान गाउँ विकास समितिको देउरालीको विवाह घरमा बाजा बजाएर फर्किेने क्रममा कच्ची बाटोमा लु१ज २६८९ नम्बरको सो जिप दुर्घटना भएको थियो।

पाल्पामा दिनहुँ दुर्घटना र यसमा मानिसको ज्यानसमेत जान थालेपछि जिल्लाबासी चिन्तित देखिएका छन्। प्रहरीले दुर्घटनाका कारणहरूको खोजी गरी भविष्यमा यस्ता दुर्घटना हुन नदिन सचेत रहन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्