आर्मी र संकटा आमनेसामने



गोकुल घोरसाइने, बारा
सिमरा गोल्डकपको आठौं सस्करणको उपाधि होडमा त्रिभुवन आर्मी क्लब र सीएमजी संकटा क्लब आमनेसामने भएका छन्। सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै आर्मीले शनिबार हुने उपाधि होडमा संकटासँग भेट पक्का गरेको हो। यसअघि संकटाले विजय युथलाई स्तब्ध पार्दै अन्तिम दुईको यात्रा तय गरेको थियो।

सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी उपाधि होडमा पुगेको हो। आर्मीका लागि टंक बस्नेतले एक गोल गरेका थिए भने आत्मघाती गोलमा आर्मीले अग्रता दोब्बर पारेको थियो। हिमालयन शेर्पाका लागि हेमन गुरुङले एक गोल गरे।

आक्रामक खेलमा उत्रिएको आर्मी शेर्पा विरुद्ध अन्तिम समयसम्म नै हाबी देखियो। शुरूआतदेखि नै शेर्पालाई दबाबमा राख्न सफल आर्मीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो। भरत खवास र नवयुग श्रेष्ठले अवसर खेर फाल्दा खेलमा अग्रता लिन आर्मीले ४२ मिनेटसम्म पर्खनुपर्यो। आर्मीका पदम तामाङले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किने क्रममा शेर्पाका रक्षापंक्तिका मानबहादुर गुरुङको छातिमा लागेर जाली चुमेको थियो।

आत्मघाती गोलबाट अग्रता लिएको आर्मीले त्यसपछि पनि थुप्रै राम्रा अवसर चुकायो। खेलको ४५ मिनेटमा नवयुग श्रेष्ठले मिलाएको पासलाई भरतले फेरि पनि सदुपयोग गर्न सकेनन्। भरतको प्रहार वन भर्सेज वनमा क्रसबारबाट बाहिरिएको थियो। आर्मीले पटकपटक अवशर खेर फालिरहँदा हेमनले फ्रि किकको सदुपयोग गर्दै शेर्पालाई खेलमा फर्काएका थिए। चार मिनेट थपिएको ईन्जुरी समयमा शेर्पाका हेमन गुरुङले झण्डै २५ यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो। ५७ मिनेटमा टंक बस्नेतले आर्मीका लागि विजयी गोल गरे। संकटाका रक्षापंक्तिबाट रिबाउन्ड भएर आएको बलमा लामो प्रहार गर्दै टंकले गोल गरेका हुन्।

शेर्पाका प्रशिक्षक विकास मानन्धरले आर्मीविरुद्ध आफ्नो टिमले अपेक्षाअनुसारको खेल पस्कन नसकेको बताए। बलियो विभागीय टिम विरुद्धको दाँजोमा आफ्ना खेलाडीको फिटनेसमा समेत कमजोरी देखिएको मानन्धरको भनाइ थियो।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अवशरको सदुपयोग गर्न नसकदा फराकिलो जित हात पार्न नसकेको बताए। टिमको प्रदर्शन उत्कृष्ट रहे पनि फिनिसिङमा आफ्ना खेलाडी पनि धेरै चुकेको न्यौपानेले बताए। आजको खेलको म्यान अफ दि म्या शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए। उनले पाँच हजार नगद प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्