दुर्गम क्षेत्रमा अझै पुगेन पाठ्यपुस्तक



ईश्वरराज ढकाल, काठमाडौं
१५ लाख १३ हजार ५ सय ७ जना विद्यार्थी कक्षा १ र २ मा अध्यनरत छन्। ती विद्यार्थीका लागि ७५ लाख ६७ हजार ५ सय ३५ थान रंगीन पाठ्यपुस्तक आवश्यक पर्छ। तर निजी प्रकाशकले हालसम्म केही मात्रामा पुस्तक छाप्न शुरू गरेका छन्। बिजोग त हामीलाई परेको छ।

हालसम्म निजीले जिम्मा लिएको कक्षा १ देखि ५ सम्मको एक थान पनि पाठ्यपुस्तक हात परेको छैन। दिनहुँजसो सोधिरहेका छौं, उहाँहरू न सम्पर्कमा आउनुहुन्छ न त पाठ्यपुस्तक नै देखाउनुहन्छ।

पर्सि फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र शुरू हुनुअघि पुस्तक लिन नेपालगन्जस्थित जनक शिक्षाको क्षेत्रीय कार्यालयमा आउनुभएका डोल्पाका व्यापारी लंक रोकायाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नयाँ शैक्षिक सत्रमा कक्षा १–५ का विद्यार्थीको हात खाली हुने भएको छ। हामी हिमाली जिल्लाका विक्रेताले बेलैमा पुस्तक पाउनुपर्यो, सरकारले समयमै विद्यार्थीको हातमा पुस्तक दिनुपर्यो।’

निजी छापाखानाकाका प्रतिनिधि दीपक भण्डारीले केही ‘टेक्निकल’ समस्या परेको कारण केही दिन ढिलो भएको स्वीकार्दै फागुन ५ गतेभित्र फागुन १ गतेदेखि शैक्षिक शत्र शुरू हुने सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने दाबी गर्नुभयो। ‘मनाङमा ९ सय ३२ र मुस्ताङमा २ सय ५१ जना विद्यार्थी छन्, उनीहरूलाई आवश्यक पर्ने करिब ६ हजार ५ सय थान पुस्तक पुर्याउन निजीलाई कुनै समस्या छैन’ –उहाँको भनाइ थियो।

उहाँले नेपालगन्जमा भेला भएका व्यापारीलाई २ गते किताब हात पार्ने बताउनुहुँदै भन्नुभयो– ‘हामीसँग पुस्तक तयारी छ, २ गतेभित्र पुर्याउँछौं।’
१ गतेदेखि कक्षा सञ्चालन हुने हिमाली जिल्लामा पहिले साता मात्रै पुस्तक पुग्ने देखिन्छ। जनक शिक्षा पोखरा क्षेत्रीय कार्यालय प्रमुख जयराम अर्यालले मनाङ र मुस्ताङमा आवश्यक पर्ने कक्षा ६–१० को करिब ८ हजार थान पाठ्यपुस्तक सम्बन्धित जिल्लामा पुर्याइसकेको बताउनुभयो। केन्द्रले पुर्याए पनि निजीले जिम्मा लिएको १–५ को पाठ्यपुस्तक हालसम्म नआइपुगेको उहाँले बताउनुभयो। जुम्ला, हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा फागुन १ गतेदेखि नयाँ शैक्षिकसत्र शुरू हँुदै छ। जनक शिक्षा नेपालगन्ज क्षेत्रीय कार्यालय प्रमुख रवीन्द्र शर्माले हिमाली ३ जिल्लाका लागि कक्षा ६–१० को सम्पूर्ण पाठ्यपुस्तक ढुवानी भइसकेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो– ‘फागुनमा शैक्षिक सत्र शुरू हुने मध्यपश्चिमको तीनवटा जिल्लाका सबै विक्रेताले पुस्तक लगिसकेका छन्।

हामीले समयमै सबै पाठ्यपुस्तक ढुवानी गरिसकेका छौं, निजीको अहिलेसम्म अत्तोपत्तो छैन। सबै व्यापारी जनकको क्षेत्रीय कार्यालयमा कक्षा १–५ को पुस्तक पाउने प्रतीक्षा गरिरहेका छन्।’

तोकेको समयमा पाठ्यपुस्तक छपाइ गर्न नसक्दा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको चरमा अभाव हुने देखिएको छ। जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमल्सिनाले हिमाली जिल्लामा पाठ्यपुस्तक पुगिसकेको दाबी गर्नुहुँदै अन्य जिल्लाका लागि तीव्र तयारी भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिलेसम्म ५० प्रतिशत पुस्तक छपाइ गरिसकेका छौं। शैक्षिक सत्र शुरू हुनुअगावै सबै छपाइ सक्नेछौं।’

मन्त्रालयले यो वर्ष केन्द्रलाई ६–१० को पुस्तक छाप्न निर्देशन दिएको थियो। तर केन्द्रले १–१० को पाठ्यपुस्तक छपाइ गर्न पाउने अधिकार छ। यो वर्ष पनि सरकारले निजीलाई कक्षा १–५ को पाठ्यपुस्तक दिएको छ। केन्द्रले अहिलेसम्ममा कक्षा ६ र ७ का आवश्यक ३ लाख ५० हजार थान किताबमध्ये २ लाख ५० हजार थान, कक्षा ८ का लागि आवश्यक ४ लाखमध्ये ३ लाख, कक्षा ९ को ४ लाखमध्ये ३ लाख र कक्षा १० का लागि आवश्यक ५ लाख सेटमध्ये भर्खर १ लाख सेट किताब मात्र छापेको छ।

यो वर्ष १ देखि १० कक्षा सम्म ५७ लाख ५७ हजार ७ सय ४४ जना विद्यार्थी छन्। गत वर्षको तुलनामा यो वर्ष करिब २ लाख विद्यार्थी घटेका छन्। ती विद्यार्थीका लागि ३ करोड ७२ लाख ५१ हजार ९ सय ५५ थान पाठ्यपुस्तक आवश्यक पर्छ। ६ देखि १० सम्म ७२ लाख ५० लाख १५ थान पाठ्यपुस्तक आवश्यक पर्छ।

१ देखि ५ कक्षासम्म १ करोड ७२ लाख ५० हजार १ सय १५ थान पाठ्यपुस्तक आवश्यक पर्ने शिक्षा विभागले जनाएको छ। सरकारले यो वर्षबाट कक्षा १ र २ का लािग रंगीन पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्