सबै स्वास्थ्य संस्थाबाट शिशुको निःशुल्क उपचार



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक
जन्मेको २८ दिनसम्मका शिशुहरूको निःशुल्क उपचारका लागि सरकारले हरेक स्वास्थ्य संस्थामा उपचार सेवा शुरू गरेको छ।

सोही सेवाअन्तर्गत जिल्लामा रहेका १ सय ११ वटै स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार सेवा शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिएका छन्। सरकारले शिशुहरूको उपचारका लागि देशका सबै संस्थालाई अनुदान उपलब्ध गराएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार सबै स्वास्थ्य संस्थामा उपचार नभए त्यो संस्थाले अन्यत्र रिफर गर्दा त्यसका लागि आवश्यक रकमसमेत उपलब्ध गराउनेछन्। शिशुहरू उपचार नपाएरै अकालमा मृत्यु हुनबाट जोगाउन उक्त अभियान शुरू भएको हो। सुत्केरी अस्पतालमा हुँदा सहयोग दिने गरिए पनि शिशुको उपचारमा सहयोग गरिएको थिएन। जन्मँदै जन्डिस, निमोनिया तथा अन्य रोगबाट संक्रमण हुने बालबालिकाका लागि उक्त सहयोगबाट लाभ मिल्ने भएको छ। जिल्लामा रहेका सबै स्वास्थ्य संस्थामा यो सेवा शुरू भएको छ।

जुन संस्थाले उपचार गर्न सक्दैन त्यहाँ आइपुगेका शिशुका अभिभावकलाई उपचार खर्च उपलब्ध गराएर अन्यत्र पठाउनेछन्। जिल्लामा पछिल्लो आर्थिक वर्षमा २ महिनाभन्दा कम उमेरका बिरामी बच्चा १ सय १८ जना, २५ देखि ५९ दिनका ६१ जना, २ देखि ५९ महिनाका १० हजार ९ सय ५९ जना बालबालिका रहेको डा. सापकोटाले जानकारी दिए। बिरामी भएकामध्ये १२ सय ७७ जना निमोनिया भएका र १८ सय ४१ जना झाडापखाला लागेका बिरामी रहेको उनले बताए। सर्वसाधारणलाई विभिन्न प्रकारका औषधि र उपचार निःशुल्क गरिएको बारे जानकारी भए पनि स्वास्थ्य संस्थामा औषधि नभएको भन्दै गुनासो आएको थियो। उक्त गुनासो सम्बोधन गर्न तत्कालै सबै स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउन बजेट विनियोजन भएको प्रमुख डा. सापकोटाले जानकारी दिए।

कार्यालयले राष्ट्रिय भिटामिन ए कार्यक्रममा ३६ हजार ५ सय १८ जनाको लक्ष्य लिएकोमा २७ हजार ४ सय ९ जनाले खुवाएको बताए। त्यस्तै जुकाको औषधि २४ हजार ७ सय ८०, बालभिटा वितरण ५५ हजार ४ सय ५६ जना, शीघ्र कुपोषणमा कुपोषणको स्किनिङ ५७ हजार १५ जनाको गरिएको छ भने कडा खालको कुपोषणबाट १ सय ७७ जना बालबालिका भर्ना भएका छन्। त्यस्तै भर्ना भएकामध्ये उपचारमा रहेका १९ जना बालबालिका छन्। सुनौलो १ हजार दिनका परिवारलाई कुकुरी किट र हाइजिन किट वितरण गरिएको छ। उक्त परिवारका ७ हजार ५ सय ३२ जनाले सेवा पाएका छन्। आव २०६३⁄६४ देखि २५ शैय्यासम्मका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिब, असहाय बिरामीलाई आकस्मिक तथा अन्तरंग सेवा निःशुल्क रूपमा प्रदान गर्न शुरू गरिएको थियो।
जिल्लास्तरीय अपांग प्रमाणीकरण समितिले प्रमाणपत्र दिएको वा सिफारिस गरेको व्यक्ति, ६० वर्षमाथिको उमेर भएको नेपाली नागरिकलाई पनि उपचारमा सहुलियत प्रदान गरिएको छ। जिल्ला अस्पताल तथा जिल्लाअन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइमा आवश्यक पर्ने औषधिहरू जिल्ला स्तरबाट खरिद गर्ने व्यवस्थाका लागि ‘राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयहरू र जिल्ला अस्पतालहरूलाई औषधि खरिद’ को अधिकार दिइएको छ।

प्रतिक्रिया दिनुहोस्