पाका खेलाडीका तन्नेरी सट



फिरोज राजोपाध्याय
आजभोलि खेल जगत्मा हेर्ने हो भने पाका उमेरका खेलाडीको हालिमुहाली भइरहेको छ । खेलकुदको संसारमा हेर्ने हो भने ३० वर्षको उमेर काटेपछि जुनसुकै खेलमा खेलाडीले संन्यास लिनुपर्ने लक्षण देखा पर्छ । उनीहरूलाई बुढो भएको भन्दै टिमबाट हटाउन वा संन्यास लिन बाध्य पार्छन् । उनीहरू खेल्न चाहँदाचाहँदै नयाँ खेलाडी नयाँ कोच आउने गर्दा टिममा तालमेल मिल्न कम अवसर हुन्छ । इतिहासको पाना पल्टाउने हो भने पनि ३० वर्ष कटेपछि जतिसुकै राम्रो खेलिरहे पनि संन्यास लिएको उदाहरण पाइन्छ ।

तर, उमेरले उपाधि जित्न खेलाडीलाई छेक्दैन भनेर भर्खरै सम्पन्न अस्ट्रेलियन ओपनले सावित गरेको छ । वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगितामा ३५ वर्षका पाका खेलाडीले उपाधि जितेर विश्व खेलकुदमा आश्चर्यमा पारेका छन् । मेलबर्नमा जनवरी २९ मा सम्पन्न भएको वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिताअन्तर्गत मेन्स सिंगल्समा रोजर फेडेरर र ओमेन्स सिंगल्समा सेरेना विलियम्सले उपाधि जितेका थिए ।

 

स्विस खेलाडी फेडेररको यो करिअरकै १८औं ग्रान्डस्लाम उपाधि थियो भने अमेरिकी खेलाडी सेरेनाको २३औं ग्रान्डस्लाम उपाधि थियो । प्रतियोगिता खेल्नुअगाडि फेडेररका लागि उपाधि जित्ने दावेदारीमा राखिएको थिएन । जब जापानका केइ निसिकोरी र स्विस खेलाडी स्टान वाउरिन्कालाई हराए उनले त्यसपछि उनले करिअरकै १८औं ग्रान्डस्लाम जित्न सक्ने अनुमान लगाउन थालियो । अनुमान सही पनि बनाए फेडेररले ।

फाइनलमा फेडेररले अर्का पाका खेलाडी स्पेनका राफाल नाडाललाई पाँच सेटमा हराएका थिए । ३० वर्षीय नाडाल पनि चोटका कारण प्रदर्शन त्यति राम्रो गर्न सकिरहेका थिएनन् । उनलाई पनि फेडेररलाई झैं फाइनल पुग्ने खेलाडीको रूपमा हेरिएको थिएन । तर, उनले पनि आश्चर्य बनाए सबैलाई । निर्णायक सेटमा उनी ३–१ ले अगाडि पनि बढेका थिए । तर, फेडेररले उत्कृष्ट प्रदर्शन गर्दै सो सेट र खेल जितेका थिए ।

त्यस्तै सेरेनाले आफ्नै दिदी भेनसलाई फाइनलमा हराएकी थिइन् । भेनसको उमेर ३६ वर्षको थियो भने उनी १४ वर्षपछि अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी थिइन् । उनी मेलबर्नमा फाइनल खेल्ने धेरै उमेरकी खेलाडी बनेकी थिइन् । सेरेना यो उपाधि जितेसँगै ओमेन्स सिंगल्समा सर्वाधिक ग्रान्डस्लाम जित्नेको सूचीमा दोस्रो नम्बरमा रहेकी छिन् । उनले जर्मनीकी स्टेफी ग्राफ (२२ ग्रान्डस्लाम उपाधि) लाई पछाडि पारेर २३औं ग्रान्डस्लाम जितेकी हुन् । अब उनको नजर अस्ट्रेलियाकी मार्गारेट कोर्टको २४औं ग्रान्डस्लाम उपाधि संख्या बराबरी गर्ने हुनेछ ।

क्रिकेटमा पनि
क्रिकेटमा पनि उमेरले गर्दा यस्तो अवस्था आइरहेको छ । जस्तै अस्ट्रेलियाका सुेन वार्न, श्रीलंकाका मुथैया मुरलीधरण, वेस्ट इन्डिजका ब्रायन लारा, भारतका सचिन तेन्दुलकर जस्ता खेलाडीको प्रदर्शन लयमा हुँदाहुँदै पनि क्रिकेट खेल्न छाडे । उनीहरू कोही युवा खेलाडीभन्दा कम देखिँदैनथे जब उनीहरूले खेलाडी जीवन त्यागेका थिए ।

यसै क्रममा १९ जनवरी बिहीबारको दिन भारत र इंग्ल्यान्डबीचको दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा बुढो शेरको तन्नेरी खेल हेर्न पाइयो । कटकस्थित बारावती रंगशालामा हेर्ने दर्शक जति थिए त्योभन्दा बढी टेलिभिजनमा सो खेल प्रत्यक्ष प्रसारण हेर्नेको संख्या धेरै थियो ।

इंग्ल्यान्डका क्रिस ओक्सले ३ विकेट २५ रनको योगफलमा लिएर भारतीय टिम र हजारौं भारतीय दर्शकलाई निराश तुल्याएका थिए । रंगशालामा उपस्थित भारतीय दर्शक ज्यादै शान्त थिए त्यति बेला । क्रिजमा आए दुई पाका खेलाडी । महेन्द्रसिंह धोनी र युवराज सिंह । दुवै ३५ वर्षका थिए । कप्तान विराट कोहली आउट भएको स्थितिमा यी दुईमाथि दबाब पनि थियो

तर यी दुवै खेलाडीले टिमलाई निराश गरेनन् । उनीहरूले शतक ठोकेर इंग्लिस टोलीको सिरिज बराबरी गर्ने आशामाथि तुषारापात गरेका थिए । शतक बनाउँदा धोनीको उमेर ३५ वर्ष १ सय ९६ दिनको थियो भने युवराजको उमेर ३५ वर्ष ३८ दिनको थियो । केही विशेषज्ञका अनुसार उमेर बढेपछि ब्याट्सम्यानको हात र आँखाको तालमेलमा असर पर्दछ । दौडँदा पनि धेरै फरक पर्दछ । तर, धोनी र युवराजले यस्तो कुनै असर नहुने त्यो दिन विशेषज्ञलाई चुनौती दिएका थिए ।

भारतकै पूर्वखेलाडी बिसनसिंह वेदीसँग ३५ वर्षपछि ब्याट्सम्यानले लामो इनिङ खेल्न कठिन हुनेबारे बीबीसीले सोधेको थियो । तर, उनले बताए– ‘कठिन होला तर धोनी र युवराजलाई हेरेर यस्तो लागेन । दुवैले गजबको ब्याटिङ गरे । उमेर बढ्नुभनेको अंक बढ्नु मात्रै हो जोश घट्ने होइन ।’

कटकमा भएको खेलमा युवराजले १ सय ५० रन जुन उनको करिअरकै उत्कृष्ट इनिङ थियो । त्यस्तै धोनीले १ सय ३४ रन जोडे । पाको खेलाडीको जोडीले रेकर्ड पनि बनाए । उनीहरू एउटै इनिङमा ३५ उमेर कटे पनि शतक लगाउने दोस्रो पाको जोडी बनेका छन् । यसअघि यो रेकर्ड श्रीलंकाको नाममा थियो । सन् २०१५ मा मेलबर्नमा बंगलादेशविरुद्ध तिलकरत्ने दिलसानले १ सय ६१ रन र कुमार सांगाकाराले १ सय ५ रन बनाएका थिए । दुवैको उमेर ३५ कटेको थियो ।

धोनी र युवराजले बीच–बीचमा राम्रो खेलिरहे पनि यस्तो लामो इनिङ धेरै समयपछि खेलेका थिए । उनीहरूले जतिबेला क्रिज सम्हाले त्यतिबेला भारत एकदमै नाजुक अवस्थामा थियो । उनीहरूका लागि मौका पनि थियो आफ्नो प्रदर्शन घटेको छैन भनेर देखाउन र साथै टिमलाई उकास्ने मौका पनि बराबर थियो । उनीहरू त्यो आवश्यकलाई पूरा गर्न सफल पनि भए ।

युवराजले शतक प्रहार नगरेको धेरै वर्ष भइसकेको थियो । बीचमा टिममा पनि परेका थिएनन् उनी । तर, ६ वर्षपछि जब उनको ब्याट चल्यो त्यसले शतक बनाएरै छोड्यो । उनले सन् २०११ मा शतक प्रहार गरेका थिए । त्यस्तै धोनीले सन् २०१३ मा मोहालीमा अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका थिए । तर, त्यतिबेला उनी भारतीय टिमका कप्तान थिए भने अहिले उनी भारतीय टिमका सदस्य हुन् । उनले यो सिरिज अगाडि नै भारतीय कप्तान पद छाडेका थिए । उनको स्थान विराट कोहलीले लिएका छन् ।

३५ वर्षभन्दा बढीका शतक
धोनी र युवराजबाहेक शतक लगाउनेमा भारतीय पाको खेलाडी अरू पनि छन् । सचिन तेन्दुलकरले सन् २०१२ मा बंगलादेशविरुद्ध शतक प्रहार गर्दा ३८ वर्ष ३ सय २७ दिनको उमेरमा थिए । सचिनबाहेक विगतमा शतक प्रहार गर्नेको नाम पनि धेरै छ । सुनील गावस्करले ३८ वर्ष १ सय १३ दिनमा न्युजिल्यान्डविरुद्ध शतक बनाए । त्यस्तै मोहिन्दर अमरनाथले ३७ वर्ष १ सय ८५ दिनमा र मोहम्मद अजरुद्दिनले ३५ वर्ष २ सय २४ दिनमा शतक ठोकेका थिए । कटकको खेलपछि पाको उमेरमा शतक बनाउने सूचीमा भारतका ६ खेलाडी सूचीत भएका छन् ।

तर, यी धुरन्धर खेलाडीभन्दा अगाडि पनि एक ब्याट्सम्यान ज्यादै पाको उमेरका छन् । उनको नाम क्रिकेट प्रेमीले सायदै आफ्नो दिमागमा राखे होलान् । उनको नाम हो खुर्रम खान । यो नाम सुन्ने कमै पनि होलान् । उनको कीर्तिमान तोड्न कोही पनि ब्याट्सम्यानका लागि सहज हुने छैनन् ।

संयुक्त अरब इमिरेटसका ब्याट्सम्यानले सन् २०१४ मा अफगानिस्तानविरुद्ध १ सय ३२ रनको शतकीय इनिङ खेलेका थिए । त्यतिबेला उनको उमेर थियो ४३ वर्ष १ सय ६२ दिन थियो । यसपछि श्रीलंकाका विस्फोटक ब्याटसम्यान सनथ जयसूर्याले ३९ वर्ष २ सय १२ दिनमा शतक बनाएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका जेफ बायकाटले ३९ वर्ष ५१ दिनमा शतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्