रमेशचन्द्र बादे श्रेष्ठ

निष्पक्षता, निःस्वार्थ, अनुसाशित जिम्मेवार व्यक्तिको गुण हो भने सुशासन, सामाजिक सद्भाव र जनकल्याण लक्ष्य हो । जिम्मेवारी व्यक्तिको इमानदारिता नैतिक चरित्रको सूचक हो । सबैले परिवार, समाज र राष्ट्रप्रति जिम्मेवारी निभाउन अत्यन्त जरुरी छ । यो सबैको कर्तव्य हो । आफ्नो जिम्मेवारीपनले अरुलाई सचेत तुल्याउँछ ।

एकपछि अर्को सजगताले सबैलाई कर्तव्यप्रति निष्ठा, प्रतिबद्धता, कर्तव्यपरायण र पारदर्शितामा उन्मुख तुल्याउँछ, जुन समयको माग हो । जिम्मेवारी निभाउनु आफ्नो र समाजको परिचय प्रस्तुत गर्नु हो । घरगृहस्थी, व्यक्तित्वदेखि लिएर समाज र राष्ट्रको विकास निर्माणमा जिम्मेवारीको अहम् भूमिका रहन्छ । नियम राम्रो भएर हुँदँन तर नियमनकारी व्यक्तिको जिम्मेवारीपनले व्यक्ति र समाजलाई अनुशासित र नियमनकारी बनाउन सक्नेमा फरक मत नहोला ।

जिम्मेवारीको प्रभावकारी बहन गर्नाले सभ्य, शिष्ट र उत्कृष्ट समाजको सृजना हुन्छ । यसैको प्रभावले विश्वका विकसित देशहरू आजको स्थितिमा पुग्न सकेका हुन् भन्नेमा दुई मत नहोला । निष्ठा एवं प्रतिबद्धताप्रति सजग रहेर बहन गरिएको जिम्मेवारीले समाजमा शान्ति, सद्भाव र अमनचयन हुनुका साथै विकास निर्माणले गतिशीलता पाउने निश्चित छ । व्यक्ति विशेषको अहम् र घमण्डले विकराल भयावह स्थिति सृजना हुनसक्छ ।

समयमै यसलाई नसुधारिएमा युद्धसमेत भएको इतिहास साक्षी रहेको छ । दृढ, अदम्य साहसको जिम्मेवारीले युद्धमा समेत विजय हासिल गरी शान्ति स्थापना भएका कैयौं उदाहरण छन् । जिम्मेवारी बहन गर्ने क्रियाशीलताका आधारमा समाज र सामाजिक जीवन सोही अनुपातमा सुदृढ हुने निश्चित छ । यसर्थ जिम्मेवारीलाई समाजको सकारात्मक परिवर्तक र संवाहकको रुपमा लिन सकिन्छ, जुन सामाजिक सृदृद्रिढीकरणको लागि सुअवसर हुनु साथै सभ्य र सृजनशील समाज रुपान्तरणको सशक्त माध्यम हुनसक्छ । अतः व्यक्तित्व, समाज र राष्ट्र उठानको लागि भविष्यका कर्णधार विद्यार्थी वर्गलाई प्राथमिक विद्यालयस्तरबाट नै पाठ्यक्रममा समावेश गरी शैक्षिक ज्ञानको अतिरिक्त नैतिक शिक्षा एवं यससम्बन्धी पठनपाठन प्रशिक्षित गर्नु आजको आवश्यकता व्यावहारिक दृष्टिकोणले तुलनात्मक लाभदायक हुने निश्चित छ ।
समाजको हरेक वर्ग र क्षेत्रबाट जिम्मेवारीको भूमिका बहन गरेको खण्डमा भैपरी आउने सामान्यदेखि अधिकतम जटिल समस्या पनि सरल तरिकाबाट समाधान गर्न सक्नेमा द्विविधा नहोला । क्षेतिपूर्ति व्यवस्थापनको कानुनमा व्यवस्था गर्न सके जिम्मेवारीको व्यापक पालना हुने निश्चित छ । साथै सम्बन्धित नियामक निकायको कडाभन्दा कडा दण्ड–सजाय, कानुनी कारबाहीको कार्यान्वयनले अझ व्यापकता हुन्थ्यो । यसर्थ अब मौन रहनुभएन ।

दशकौंदेखि गुमराहमा राखेको लोडसेडिङलाई ऊर्जामन्त्रीको निर्देशन र ने.वि.प्रा.का महानिर्देशकको प्रयासबाट बहादुरीका साथ जिम्मेवारी बहन गरी अन्त्य गरिएको छ । पूर्व एक स्थानीय विकासमन्त्रीबाट विदेशी पीआर र ग्रीनकार्डधारी राष्ट्र सेवामा कार्यरत स्वदेशी भत्ता खाई विदेशको सेवा गर्ने कर्मचारीलाई कारबाही गरियो । यी कार्य सराहनीय छन, जसलाई निरन्तरता दिनु आवश्यक छ ।

अ.दु.अ. आयोगका प्रमुख आयुक्त लोकमानसिंहको नियुक्तिको सन्दर्भमा संवैधानिक सिफारिस परिषद्का पदाधिकारीहरूको जिम्मेवारीपनमा प्रश्नचिह्न खडा भएको छ । त्यस्तै नयाँ नेपालको नयाँ संविधान २०७२ घोषणा भएको यत्तिका समय भइसक्दा पनि राजनेताहरूबाट जिम्मेवारीपूर्वक यसको कार्यान्वयन हुन नसकेको अवस्था सम्पूर्ण नेपालीले भोगेकै हो । अझै त्यसमा पनि तराई मधेसका नेतागणले संविधानको कार्यान्वयन नै नगरी संविधान संशोधनको माग राखेर अनावश्यक समस्या सृजना गरेका छन् । सबै संयमित भएर जिम्मेवारीका साथ सोचौं, छलफल, सभा, गोष्ठी आदि गरौं । ठोस निष्कर्ष निकालौं, सबै नेपालीका जायज मागको सम्बोधन गरौं । हातेमालो गरी शान्ति भूमि, ज्ञानभूमि, तराई–पहाड–हिमालमा हामी सबै रमाऔं ।

योग्यताको आधारमा जिम्मेवारी दिँदा परिमाणमुखी हुने निश्चित छ । जिम्मेवारी बहन गर्नेलाई पुरस्कृत गरिनु र गैरजिम्मेवारीलाई दण्ड–सजाय गर्नाले जिम्मेवारीको प्रभावकारी कार्यान्वयन हुने निश्चित छ । जिम्मेवारीपनले समाजमा उच्छृङ्खलता, दण्डहीनता, अन्याय, अत्याचार र भ्रष्टाचारलाई निर्मूल गरी कानुनी राज्यको स्थापना गर्छ ।

को नेता, कार्यकता, राष्ट्रसेवक, समाजसेवी, उद्यमी, व्यवसायी, सबैले आ–आफ्नो जिम्मेवारी बहन गरेको खण्डमा विकास निर्माणको परिणाम छोटो अवधिमै निश्चित छ । रोजगारीको सिलासिलामा उत्साहपूर्वक विदेशिने तर मरुभूमिको ताप खप्न नसकी लास भित्र्याउनमा जिम्मेवारी कसले लिने ? बेथिति, बेरीति, अनियमितताको अन्त्य गरी विधिको शासन नेपालीको चाहना हो । स्वदेशी श्रम स्वदेशमै लगाउनु बुद्धिमत्ता हो । रोजगारीको विस्तार गर्नु समयको माग र युवाको चाहना हो । यी सबैको जिम्मेवारी बहन गर्नु हाम्रो कर्तव्य हो ।

सबै नियामक निकायका नीति निर्माता, नियन्त्रक र निर्देशकहरूले आ–आफ्नो क्षेत्रमा जिम्मेवारी बहन गरी सर्वसाधारणलाई पनि जिम्मेवारीबोध गराउन जरुरी छ । यसले गर्दा सम्बन्धित सर्वसाधारण आफ्नो जिम्मेवारी बहन गर्न दायित्व सम्झनेछन् । सबैले आफ्नो देश र जनताप्रति जिम्मेवारीबोध गरी विकास र समृद्धितर्फ लागेमा मात्र जिम्मेवारी बहन गरेको ठहरिनेछ ।

LEAVE A REPLY