परमाणु ऊर्जा केन्द्रमा विस्फोट



पेरिस, (एजेन्सी)
फ्रान्सको एउटा परमाणु ऊर्जा केन्द्रमा विस्फोट भई आगलागी भएको छ। तर उक्त दुर्घटनाबाट परमाणु विकिरणको खतरा भने नभएको अधिकारीहरूले जानकारी दिएका छन्।

फ्रान्सेली अखबार ओएस्ट फ्रान्सले उत्तरी फ्रान्सको फ्लेमाविलस्थित परमाणु संयन्त्रको मेसिन कक्षमा विस्फोट हुँदा थुपै्र जना घाइते भएको उल्लेख गरेको छ। सरकारले एउटा राहत टोलीलाई तत्काल त्यसतर्फ पठाइसकेको छ।

फ्लेमाविलमा दुईवटा आणविक भट्टी पहिल्यै रहेकोमा बेलायतको जस्तो नयाँ तेस्रो आणविक भट्टीको निर्माण भइरहेको छ। बेलायतको उक्त नयाँ भट्टीलाई हिन्कली प्वाइन्ट सी नाम दिइएको छ। उक्त नयाँ ऊर्जा केन्द्रले सन् २०२५ बाट विद्युत् उत्पादन थालिने जनाइएको छ।

बिहीबार उक्त घटना भएको स्थान ब्रिटिस च्यानल आइल्यान्ड नजिक मान्से क्षेत्रमा पर्छ। निर्माणाधीन विद्युत्गृहको चारैतिर बनाइएको इस्पातको संरचनामा सन् २०१५ मा केही कमजोरी फेला परेको थियो। परमाणु ऊर्जा केन्द्र निर्माणको विरोध गरिरहेका कार्यकर्ताले त्यसको विरोधमा गत अक्टोबरमा प्रदर्शनसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्