योजना नै दिँदैनन् सांसद



मोतीराम तिमल्सिना, काभ्रे ।

मंसिर मसान्तभित्रै सांसद विकास कोषअन्तर्गत खर्च हुने योजनाहरू निर्वाचन क्षेत्र नम्बर १ का सांसद तीर्थ लामाले माघ मसान्त लागिसक्दासमेत पेस गरेका छैनन्। तर, उनले मंसिर मसान्तमा योजना पेस गरेको नक्कली पत्र दर्ता गराएका छन्।

‘माघ मसान्त लागिसक्दासमेत सांसद आफैं योजना पेस गर्दैनन्’ –जिल्ला विकास समितिका एक कर्मचारीले भने– ‘माघ मसान्तभित्र दलहरूले योजना सम्झौताको अन्तिम मिति तोकेका छन्। अनि कसरी हुन्छ योजना सम्झौता र कार्यान्वयन ?’ सांसद लामाले क्षेत्र नम्बर १ का लागि विनियोजित ५० लाख र ३ करोड दुवैतर्फका योजना पेस गरेका छैनन्। मंसिर मसान्तको मिति राखेर बैठक सञ्चालन गरेको देखाए पनि माघ २५ गते मंगलबारसम्म जिविसमा कुन योजनामा कति रकम भन्ने सूची बुझाएका छैनन्। केही दिनअघि मात्रै मंसिर ३० कै मिति राखेर राज्य मन्त्री कञ्चनचन्द्र वादेले २१ वटा योजना बुझाएका छन्। अघिल्लो आर्थिक वर्षमा जिविसकै कर्मचारी प्रतिनिधि राखेर योजना पेस गरेका वादेले हालसम्म कुनै प्रतिनिधि तोकेका छैनन्।

योजनाहरूको सूची बुझाएपछि उनले सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई खबर गरेको भए पनि सम्झौता भने भएको छैन।
‘मन्त्री र सांसदहरूले नै किर्ते काम गरेपछि आम सर्वसाधारणहरूले के सिक्ने ?’ –जिविसका एक कर्मचारीले भने– ‘मन्त्री वादेको म.सिर ३० गते योजना पेस गरेको पत्रको दर्ता नम्बर २०७१ थियो।’ त्यस्तै सांसद तीर्थ लामाले दर्ता गरेको मंसिर ३० गतेको पत्रको दर्ता नम्बर २०७० हो।

उनले उक्त दर्ता नम्बरमा योजना पेस गरेको पत्र जिविसमा दर्ता गराएका छन् दर्ता गरेको पत्रअनुसार हालसम्म कुनै पनि योजना छनोट भएको छैन। गत वर्ष पनि मन्त्री वादे र सांसद लामाले एक महिनापछि बुझाएका थिए। मंसिर ३० को दर्ता मिति राखेर योजना पेस नगरेको बारेमा जिविसका योजना अधिकृत द्योलकराज ढकालले एक÷दुई दिनमै बुझाउँछु भनेर पत्र मात्रै लिएको जानकारी दिए। माघको अन्तिम साता प्रवेश गरिसक्दा पनि सांसद लामाले योजना बुझाउने कुरामा तदारुकता देखाएका छैनन्।

अन्य सांसदहरूका सबै योजनाहरू पेस भइसकेका छन्। जिल्लामा प्रत्यक्षबाट लामासहित रामहरि सुवेदी, कञ्चनचन्द्र वादे, विदुर सापकोटा छन् भने समानुपातिकबाट केशव बडाल, कमला दोङ, रेशम लामालगायत छन्। लामा, बडाल र दोङसहित मधेसी जनअधिकार फोरमका बाबुराम पोखरेलले पनि योजनाहरू काभ्रेमा नै पेस गरेका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको ३ करोड रकममा अन्य क्षेत्रका समानुपातिक सांसदहरूले रकम राखेपछि उनिहरूसमेत बैठक बस्नुपर्ने प्रावधान छ।

निर्वाचन क्षेत्रका सांसदहरूको संयोजकत्वमा रहने समितिमा समानुपातिक सांसदहरूले सोही निर्वाचन क्षेत्रमा ५० लाख बजेटको ५१ प्रतिशत योजना विनियोजन गरेको अवस्थामा सोही सांसद सदस्य रहने व्यवस्था छ। साथै स्थानीय विकास अधिकारी, विषयगत कार्यालयका प्रतिनिधि, जिल्ला प्राविधिक कार्यालयका प्रतिनिधि र जिविसका योजना अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ। क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सांसद कमला दोङ रहेका छन्।

क्षेत्र नम्बर २ मा मधेसी जनअधिकार फोरमका सांसद डा. बाबुराम पोखरेल र राप्रपाका सांसद रेशम लामा, क्षेत्र नम्बर ३ मा एमालेका सांसद केशव बडाल सदस्य रहेका थिए। फरक–फरक आस्था राख्ने पार्टीका सांसदहरूले सोही क्षेत्रमा ५१ प्रतिशत रकम विनियोजन गरेपछि विशेष गरी लामालाई योजना छनोटका लागि हम्मे–हम्मे परेको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्