विकराल बन्दै आत्महत्या

नानीराम नेपाल, सिन्धुपाल्चोक
पहिलोपटक भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेकी पीपलडाँडाकी एक किशोरीले केही महिनाअघि चौतारास्थित डेरामै झुन्डिएर आत्महत्या गरिन्। पहिलोपटकको आत्महत्या प्रयासपछि परिवारले ती किशोरीलाई औषधी उपचार गरी घर फर्कायो। तर, उनीमाथि नियमित निगरानी राख्न नसक्दा अन्ततः ती किशोरी आत्महत्याको शिकार बनिन्।

केही महिनाअघि फुल्पिङकोटमा अर्की एक महिलाले आत्महत्या गरिन्। परिवारका अनुसार उनी कहिलेकाहीं ‘म मरिदिन्छु’ भनिरहन्थिन्। पटक–पटक म मर्छु भनिरहँदा उनको परिवारले घुर्की लगाएको मात्र सोच्यो। ‘भन्ने मान्छेले गर्दैन’ भन्ने परम्परावादी सोचका कारण उनको परिवारले आत्महत्याको आवाजलाई समान्यरूपमै लिइरह्यो। अन्ततः ती महिलाले झुन्डिएर आत्महत्या गर्न पुगिन्।

पछिल्लो दुई वर्षयता जिल्लामा आत्महत्याको तथ्यांक डरलाग्दो नै छ। चालू आर्थिक वर्षको ६ महिनाका बीचमै जिल्लाका ४० ले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। आत्महत्याको उच्च दरलाई हेर्दा जिल्लामा आत्महत्याका प्रयास पनि उही अनुपातमा बढ्दो छ। आत्महत्याका घटना प्रहरीमा दर्ता हुने हुँदा कतिले आत्महत्या गरे भन्ने तथ्यांक प्रहरीसँग हुन्छ। तर, कतिले आत्महत्याका प्रयास गरे भन्ने तथ्यांक भने छैन। आत्महत्याको उच्च दरले आत्महत्याका प्रयासको दर पनि उच्च रहेको अनुमान सहजै लगाउन सकिन्छ।

परम्परावादी सामाजिक सोचाइका कारण आत्महत्याको दर बढिरहेको तथ्य सार्वजनिक गरिएको छ। विभिन्न कारणले व्यक्तिका मनमा उत्पन्न हुने तनावलाई सकारात्मक तवरबाट सामना गर्न नसक्दा व्यक्तिहरूले आत्महत्याका बाटो रोज्छन्। त्यसमाथि कतिपय परम्परागत गलत सामाजिक सोचाइ र बुझाइका कारण पनि आत्महत्यालाई न्यूनीकरण गर्न कठिनाइ भएको सरोकारवालाहरू बताउँछन्। मानिसमा आत्महत्याको कुरा नै गर्न हुँदैन भन्ने सोचाइ विद्यमान हुँदा पनि आत्महत्याको दर घटाउन नसकिएको बताइएको छ।

अस्ट्रेलियन एडको सहयोग तथा बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालद्वारा आत्महत्या न्यूनीकरणसम्बन्धी चौतारामा आयोजित गोष्ठीमा सरोकारवालाले परम्परावादी सोच र बुझाइ हटेमा आत्महत्याको दर घट्ने निष्कर्ष निकालेका छन्। ‘कसैले आत्महत्या गर्छु भन्यो भने परिवारले घुर्कीका रूपमा बुझ्ने गरेको छ, आत्महत्याका विषयमा कुरा नै गर्न हुँदैन भन्ने विचार समुदायमा छ’, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर कमल गौतमले भने– ‘त्यस कारण पनि आत्महत्याको दर उच्च छ।’ आत्महत्या गर्छु भन्नेमध्ये अधिकांशले आत्महत्या प्रयास गर्ने गरेको उनले सुनाए। ‘आत्महत्याका कुरा गर्ने १० मध्ये ८ जनाले आत्महत्या प्रयास गर्ने गरेका छन्’ –डाक्टर गौतमले भने।

विश्वमा आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या वार्षिक १० लाख हाराहारीमा रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा छ। नेपाल आत्महत्याको उच्च जोखिम क्षेत्रमा पर्दछ। आत्महत्यामा विश्वको सातौं र महिला आत्महत्यामा तेस्रो स्थानमा पर्दछ। पछिल्लो तथ्यांक हेर्दा जिल्लामा आत्महत्या गर्नेमध्ये महिलाको संख्या धेरै छ। आत्महत्याका विभिन्न शैलीमध्ये अधिकांशले झुन्डिएर नै आत्महत्या गर्ने गरेको पाइएको छ। पछिल्लो समय विकराल बन्दै गरेको आत्महत्यालाई न्यूनीकरण गर्न टीपीओ नेपालले जिल्लाका विभिन्न गाविसमा मनोसामाजिक कार्यक्रम गर्दै आएको छ।

ठूला विपदपछाडि मानिसहरूमा पर्नसक्ने मानसिक आघातलाई कम गरी पूर्ववत् अवस्थामा फर्काउनका लागि निरन्तर मनोसामाजिक सहयोगको आवश्यकता पर्दछ। आपत्कालीन अवस्थामा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगका लागि अन्तर निकाय स्थायी समिति (आईएएसी) निर्देशिकामा समेत सहयोगका प्रक्रियाबारे उल्लेख गरिएको छ।

LEAVE A REPLY